काठमाडौं । वाग्मती प्रदेश सांसद हिमाली गोलेले आफैँले मतदान गरेको तस्बिर खिचेपछि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा भइरहेको राष्ट्रिय सभा चुनावमा समस्या देखा परेको छ ।
दोलखाबाट माओवादीकी समानुपातिक सांसद रहेकी लामाले मतदान गरेको तस्बिर खिचेपछि प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठबीच विवाद बढेको हो।
प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले सांसद लामालाई उक्त तस्बिर हटाउन आग्रह गरेका थिए । तर नमानेपछि एकपछि अर्को क्रममा विवाद बढ्दै गएपछि अवस्था गम्भिर बनेको छ । त्यसपछि मतदानको क्रममा माओवादीका अर्का सांसद राजकाजी महर्जन श्रेष्ठसँग विवाद भएको हो ।
श्रेष्ठ ललितपुर क्षेत्र नम्बर ३–क बाट निर्वाचित सांसद हुन् । लामाले यसअघिको राष्ट्रिय सभा चुनावमा मतदान गरेकी थिइनन् । प्रमुख निर्वाचन अधिकृतसँग विवादपछि महर्जन र गोले मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई जानकारी दिइ मतदानस्थलबाट बाहिरिएका छन्
।
राष्ट्रियसभा सदस्यअन्तर्गत् वाग्मती प्रदेशतर्फ खाली रहेको दुई सिटका लागि हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रमा बिहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भएको छ ।
राष्ट्रिय सभा सदस्यको प्रतिस्पर्धाका लागि ६ जना उम्मेदवार मैदानमा उत्रिएका छन । जसमा सत्तारुढ गठबन्धनका दुई जना, नेकपा एमालेको तर्फबाट २ जना र नेपाल मजदुर किसान पार्टीबाट दुईजना गरी जम्मा ६ जनाले मनोन्वयन दर्ता गरेका छन ।
गठबन्धन दलका तर्फबाट महिलामा नेकपा (एस) बाट गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसबाट कृष्णप्रसाद पौडेल रहेका छन ।
यसैगरि विपक्षी दल नेकपा एमालेबाट महिलामा निरुकुमारी कुँवर र अन्यमा गोपाल शाक्य र नेमकिपाबाट महिला गीता काफ्ले र कृष्णबहादुर तामाङ उम्मेदवारले उमेद्वारी दिएका छन । यस पटक राष्ट्रिय सभा निर्वाचनमा वाग्मतीमा ३ सय ४६ मतदाता छन् ।
मतदातामा प्रदेशका ११९ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख गरी जम्मा २ सय ३७ रहेका छन् । निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुने व्यावस्था रहेको छ ।
जसमा निर्वाचनमा १०९ जना प्रदेश सभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ । स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । यसैगरि वाग्मतीमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना भएको छ ।