काठमाडौं । केन्द्रीय तथ्यांक विभागले नेपालको कुल जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको छ ।
विभागका अनुसार महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छ ।
जनघनत्व १९८ जना प्रतिवर्गकिलोमिटर छ । विभागका अनुसार विदेशमा बसोबास गर्ने नेपालीको संख्या २१ लाख ६९ हजार ४७८ छ ।
गाउँ–सहरको जनसंख्या विवरण
केन्द्रीय तथ्यांक विभागले बुधबार सार्वजनिक गरेको जनसंख्याको प्रारम्भिक विवरणअनुसार शहरी जनसंख्या ६६.०८ र ग्रामीण जनसंख्या ३३.९२ प्रतिशत कायम भएको छ। विभागका अनुसार नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसंख्यालाई शहरी क्षेत्रको जनसंख्या र सो बाहेकको ४६० गाउँपालिकामा रहेको जनसंख्यालाई ग्रामीण क्षेत्रको जनसंख्या मानी ग्रामीण तथा शहरी जनसंख्याको तालिकीकरण गरिएको गरिएको छ ।
विदेशमा २१ लाख ६९ हजार नेपाली
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाले २१ लाख ६९ हजार ४७८ व्यक्तिहरु अक्सर विदेशमा बसोवास गरिरहेको देखाएको छ ।
परिवारमा अनुपस्थित रहेर धेरैजसो समय विदेशमा बस्ने पुरुषको संख्या १७ लाख ६३ हजार ३१५ छ । जुन विदेशमा अक्सर बस्ने नेपालीको कुल संख्याको ८१.२७ प्रतिशत हो । विदेशमा अक्सर बस्ने महिलाको संख्या ४ लाख ६ हजार १६३ (१८.७३ प्रतिशत) छ ।
भौगोलिक क्षेत्रअनुसार तराईबाट १० लाख ६५ हजार ९६९, पहाडबाट ९ लाख ८४ हजार ८९६ र हिमालबाट १ लाख १८ हजार ६१३ जनसंख्या विदेशमा छन् ।
वृद्धिदर बढी भएका ५ जिल्ला
केन्द्रीय तथ्यांक विभागले भक्तपुर, रुपन्देही, चितवन, बाँके र सुनसरीको जनसंख्या वृद्धिदर सर्वाधिक रहेको तथ्यांक सार्वजनिक गरेको छ । ज
नगणनाको प्रारम्भिक तथ्यांकअनुसार भक्तपुरको वार्षिक वृद्धिदर ३.३२ प्रतिशत रहेको छ । यस्तै रुपन्देहीको २.३०, चितवनको २.१०, बाँकेको १.९७ र सुनसरीको वार्षिक जनसंख्या वृद्धिदर १.९४ प्रतिशत रहेको छ ।
५६ लाख ४३ हजार घरधुरीमा ६७ लाख ६१ हजार परिवार
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा जम्मा ५६ लाख ४३ हजार ९४५ वटा घरहरु रहेको उल्लेख गरिएको छ।
उक्त जनगणना घरहरुमा बसोवास गर्ने परिवार संख्या ६७ लाख ६१ हजार ५९ परिवार रहेको केन्द्रीय तथ्यांक विभागले बुधबार जानकारी दिएको छ ।
पूर्ण विवरण
कुल जनसंख्या – २,९१,९२,४८०
पुरुष – १,४२,९१,३११
महिला – १,४९,०१,१६९
जनसंख्या वृद्धिदर – ०.९३ प्रतिशत
बढेकमो जनसंख्या – २६,९७,९७६
कुल घरधुरी – ५६ लाख ४३ हजार
कुल परिवार – ६७ लाख ६१ हजार
प्रदेश १ – ४९,७१,४७९
मधेश प्रदेश – ६१,२७,५०३
बागमती प्रदेश – ६०,८३,७१३
गण्डकी प्रदेश – २४,७८,४४१
लुम्बिनी प्रदेश – ५१,२३,२८०
कर्णाली प्रदेश – १६,९६,०८३
सुदूरपश्चिम प्रदेश – २७,११,९८१
गाउँको जनसंख्या – ९९,०२,०८९
शहरको जनसंख्या – १,९२,९०,३९१
विदेशमा रहने नेपालीको संख्या – २१,६९,४७८
विदेशमा बस्ने पुरुषको संख्या – १७,६३,३१५
विदेशमा बस्ने महिलाको संख्या – ४,०६,१६३