काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काले प्रहरीमा जागिर खान आईएको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा हालेको हो ।
खड्का महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरिक्षकका रुपमा कार्यरत थिए ।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीद्वारा जारी विज्ञप्तिका अनुसार खड्काले प्रहरीमा पेस गरेको आईएको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो । खड्काले प्रहरीबाट राजीनामा दिइसकेका छन् ।
यस सम्बन्धमा अख्तियारले अनुसन्धान गर्दा उनले माध्यमिक शिक्षा परिषद् वाराणशी, उत्तर प्रदेशबाट जारी भएको आईएको झूटो प्रमाणपत्र पेश गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको जारी विज्ञप्तिमा उल्लेख छ ।
