घरमै पुगेर राहात बाँडे गुल्मीका सिडियाेले
प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका-४ दजाकोटमा पुगेर चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहात प्रदान गरेकी छन् ।

गुल्मी ।  प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले मुसिकोट नगरपालिका-४ दजाकोटमा पुगेर चट्याङ लागेर मृत्यु भएका परिवारलाई राहात प्रदान गरेकी छन् । गत २४ वैशाखमा दजाकोटकी करिष्मा गाहा मगरको चट्याङ लागेर मृत्यु भएको थियो ।

बुधबार किरष्माकाे घरमा पुगेर शर्माले ससुरा तुलबहादुर गाहालाई नगद २ लाख रुपैयाँ राहात प्रदान गरेकी हुन् । मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोट, कार्यपालिका सदस्य हरि छन्तेललगायतको उपस्थितिमा राहत प्रदान गरेकी हुन् ।

नागरिक घटना हुँदा विक्षिप्त हुने र सवै प्रक्रिया पुरा गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर राहत दिने गरेको शर्माले बताइन् । मेयर सापकोटले प्रमुख जिल्ला अधिकारी घरमै आएर राहत दिने परिपाटीको सुरुवात गरेकोमा शर्मालाई धन्यवाद दिए । उनले यो कामले नागरिक घटनाको चोटसँगै राहत लागि हुने झन्झटिलो प्रक्रियाबाट मुक्त भएको बताए ।

तुल बहादुरको घरमा परेको चट्याङले एक जनाको मृत्यु भएकाे थियो भने परिवारका ५ जना घाइते भएका थिए । घर पूर्ण रुपमा क्षति भएकाे थियो । घाइतेहरू उपचार गरेर घर फर्किएका छन् । नगरपालिकाले अस्थायी टहरो निर्माण गरिदिएको छ भने किरिया बापत २५ हजार दिएको छ । मिलन र करिष्माले तीन महिना पहिले मात्र विहे गरेका थिए। 

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.