धनगढी । सरकारी र सार्वजनिक जग्गाको कारोबार गर्न नपाउने कानूनी व्यवस्था रहेको छ। तर उच्च पदमा रहेका व्यक्तिहरुले पदको दुरुपयोग गर्दै सार्वजनिक जग्गालाई आफ्नो नाममा बनाउनेको संख्या बढिरहेको छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेमबहादुर आलेले कैलालीमा सरकारी जग्गा खरिद गरेका छन्। मन्त्री आलेले कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ हाटखोलीमा सरकारी जग्गा खरिद गरेका हुन्।
मन्त्री आलेले ६ लाखका दरले ४८ लाखमा ८ कट्ठा पर्ती जग्गा खरिद गरेको हाटखोलीका स्थानीय दलबहादुर मगरले बताएका छन्। मगरले नै मन्त्रीलाई जग्गा बिक्री गरेको पनि खुलेको छ।
मगरका अनुसार मन्त्री आले आफैँ जग्गा खरिद गर्न हाटखोली पुगेका थिए। ८ कट्ठा पर्ती जग्गा खरिद गरेका मन्त्री आलेले आफ्नै नाममा कागज पनि बनाउन लगाएका छन् । स्थानीय हरुले मन्त्रीले नै पर्ती जग्गा किनेर आफ्नो नाममा लालपुर्जा बनाएको आरोप लगाएका छन् ।
व्यक्तिको नाममा रहेको केही जग्गासँगै पर्ती जग्गा पनि खरिद गरेको स्थानीयहरुको भनाई छ । अवैध रुपमा खरिदबिक्री भइरहेको हुन्छ तर ऐलानी र पर्ती जग्गाको कारोबार गर्न पाउँदैन । आयोगमार्फत ऐलानी जग्गाको लालपुर्जा नै पाए पनि वर्षौसम्म कारोबार गर्न नपाउने व्यवस्था छ।
मुलुकी देवानी संहिताको परिच्छद ५ को २९९ को (ङ) मा नहर, कुलो वा ऐलानी, पर्ती जग्गालाई पनि सरकारी जग्गा भनिएको छ। सोही परिच्छेदको ३००.(२ं) मा सार्वजनिक सम्पत्तिको स्वामित्व सम्बन्धित सार्वजनिक संस्था वा नेपाल सरकारमा रहने उल्लेख छ।
तर मन्त्रीले नै जग्गा खरिद गरेपछि ऐलानी, पर्ती जग्गाको अवैध कारोबार झनै मौलाउने आशंका गरिएको छ।