चुनावबारे वार्ता गर्न एनआरएनएलाई परराष्टको बोलावट

 काठमाडौँ – परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय परिषद्को निर्वाचन र प्रतिनिधि छनोटलाई लिएर उत्पन्न विवाद समाधानका लागि वार्ता गर्न संघका पदाधिकारीलाई नेपाल झिकाएको छ।

वार्ताका लागि संघका उपाध्यक्ष डा बद्री केसी शनिबार बिहान नेपाल आइपुगेका छन् भने अध्यक्ष कुमार पन्त साँझसम्म आइपुग्ने संघको नेपालस्थित कार्यालयका सीईओ राजेश रानाले देशसञ्चारलाई जानकारी दिए।मन्त्रालय र संघका पदाधिकारीबीच सोमबार वार्ता हुने भएको छ। वार्ताको समय भने निश्चित गरिएको छैन। संघको १० औँ अन्तर्राष्ट्रिय महाधिवेशनका लागि ६४ देशमा निर्वाचन भइसकेको छ। परिषद्को निर्वाचनबाट ३५ सयभन्दा बढी प्रतिनिधि छनोट भइसकेको अवस्थामा निर्वाचनमा अनियमितता भएको भन्दै संघका तीन जना सदस्यहरुले मन्त्रालयमा उजुरी दिएका थिए।उक्त उजुरीको आधारमा मन्त्रालयले तत्कालै अन्तर्राष्ट्रिय परिषद्को निर्वाचन प्रक्रिया अघि नबढाउन संघलाई निर्देशन दिएको थियो। यसका साथै मन्त्रालयले निर्वाचनबारे छानबिन गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा तीन सदस्यीय कार्यदलसमेत गठन गरेको थियो।

तर छानबिनका लागि समय निर्धारण नगरेकाले परिषद्को निर्वाचन प्रक्रिया अन्योलमा परेको छ । संघले सत्ताको माथिल्लो तहबाट संघमाथि राजनीतिक हस्तक्षेप भएको भन्दै विरोध जनाएको छ। संघका उपाध्यक्ष केसीले स्वायत्त निकाय एनआरएनएमाथि सत्ताको उच्च तहबाटै राजनीतिक हस्तक्षेप भएको आरोप लगाएका छन्।उनले भने, ‘संघको आफ्नो स्वायत्तता छ । चुनावसम्बन्धी कुनै समस्या भए संघमै उजुरी गर्ने विकल्प थियो। सीधै परराष्ट्र मन्त्रालयलाई उजुरी दिनु र परराष्ट्र मन्त्रालयले पनि ठाडै निर्वाचन रोक्नु भन्ने आदेश दिनु भनेको हामीले संघमाथि राजनीतिक हस्तक्षेप भएको अनुभव गरेका छौँ।’

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.