'ढुङगामाथि छिनो राखी बाँच्नु पर्या छ'

काठमाडौं । चिसो मौसम, गाडीहरुको भिड । गाडीको धुवाँ र धुलोको प्रवाह नगरि सडकको किनारामा ढुङगामा छिनो खोपिरहेका छन् अर्जनु बडाँई । छेऊमा आगो बालेको छ । आगोको रापमा उनी न्यानो महशुस गर्दै सिलौटो बनाउन लागि परेका छन् ।

कोही मानिसलाई पुर्ख्यौली सिप, कला र पेशा  नै राम्रो लाग्ने गर्छ । त्यही पेशा व्यावसायको माध्यमले कतिपय मानिसले परिवारको गुजारा सहजै चलाइरहेका हुन्छन् । तर जनकपुर घर भएका अर्जुन बडाँईलाई भने पुर्ख्यौली पेशाले जिवन चलाउन धौ धौ परेको छ ।  

अर्जुन अहिले काठमाडौँ आएर ढुङ्गाबाट बन्ने सिलौटो, लोहोरो र जाँतो बनाएर बेच्ने काम गर्दै आइरहेका छन् । काठमाडौंको कोटेश्वर जडिबुटीमा ६/७ वर्षदेखि उनी सोही काम गर्दै आइरहेका छन् ।

अन्य काम गरौँ भने उनीसंग यो बाहेक अरु सिप छैन । अनुहार र दुःख हेरेर कसैले जागिर नदिने उनकोे भनाई छ । उनले पुर्ख्यौली पेशा अंगालेको ७/८ वर्ष भइसकेको छ । उनी २३ वर्षका छन् । १५ वर्षको हुदाँ साथिहरुसंग घुमघामको सिलसिलामा उनी काठमाडौं आएका थिए । तर काठमाडौँ आएपछि उनलाई  घर फर्केर जान भने मन लागेन । उनलाई काठमाडौंको रमझम नै बढी मन पर्न थाल्यो । तर केही दिनमै घरबाट ल्याएको पैसा सकियो । त्यसपछि शुरुभयो उनको दुःखका दिन ।

घरबाट भने काठमाडौँमा नबस बाबु भनेर आमाले भनेको नमानी उनी काठमाडौंमै दुख गर्ने सोचमा पुगे । अर्जुन घर फर्कनुभन्दा गाँउमा बस्दा सिकेको सिपको सदुपयोग गरि काम  गर्ने निधो  गरेर उनी काठमाडौं मै रहे । त्यसपछि उनी काठमाडौमा ढुङगामा छिनो खोपेर सिलौटो बनाउने र अन्य सामाग्री बनाउने काममा लागे ।

विहान देखि सांझसम्म ढुङ्गामाथि छिनो राखी दिन बिताउन बाध्य छन् उनी । स्वरसम्रात नारायाण गोपालको गीत ले भनेजस्तै मुटुमाथि ढुङगा राखी हाँस्नु पर्ने बाध्यता अर्जुनलाई छ । दिनभर ढुङगामाथी छिन राखेर बस्नु पर्ने पेशामा अर्जुन छन् । पुर्ख्यौली सिपको प्रयोग गरेर नै अहिले कठिनले भएपनि उनको गुजारा चलेको छ ।

जब उनले काम गर्न थाले शुरुमा त कठिन नै लाग्यो । तर जति धेरै काम गर्दै गए, बाध्यताले उनलाई सहज बनाउँदै गयो । बाँच्नको लागि जस्तो काम पनि गर्न सक्नुपर्छ भन्ने उनलाई लाग्यो । त्यसो हुदाँ पुर्ख्यौली पेशा नै किन नगर्ने त भने पनि उनलाई लाग्यो । त्यसैले उनले दुःखकै बिच पनि पुर्ख्यौली पेशालाई अपनाए ।

अरु काम गर्न पनि केही न केही पैसा आवश्यक पर्छ । उनले गर्न जानेको केही थिएन । पैसा नभएकै कारण अरु काम पनि गर्न नसकेपछि उनी सोही काममा तल्लिन भएको उनले बताए ।

सिलौटोको काम पनि उनले शुरुमा दुई हजारबाट व्यापार गर्न थालेका थिए । तर व्यापार नै नहुने हुदाँ केयौं दिन उनले आँशुसँग दुःख साट्ने गरेको अनुभव सुनाए ।

अहिले उनको ६ जनाको परिवार छ । आधा परिवार जनकपुरमा नै छन् । काठमाडौँमा बहिनी र अर्जुन बस्दै आएका छन् । आफु अनपढ भएकै कारण दुःख पाएको महशुस गर्दै अर्जुनले विहानदेखि बेलुकासम्म सिलौटो कै काम गरेर बहिनीलाई विद्यालय पठाउने गर्छन् ।

अहिले अजुर्नकी बहिनी कक्षा आठमा पढ्छिन् । दिन रात गरेर उनले महिनामा १५ देखि २० वटा हजार कमाउन सकेको सुनाए । त्यहि पैसाले उनले दुई जनाले खाने, बहिनीलाई पढाउने, कोठा भाडा तिर्ने र जनकपुरमा पनि केही पैसा पठाउने गरेको सुनाए ।

सिलौटोको ढुङगा लिनका लागि उनी बेला–बेला सर्लाही, मकवानपुर, र बुटवल जाने गरेका छन् । त्यस क्षेत्रमा गएर ठेक्कामा ढुङगा लिएर फुटाउँदा अलि सस्तो पर्ने र केहि बढी नाफाहुने हुनाले उनी सोही काममा लागेका छन् ।

काठमाडौंमा ल्याएर सिलौटो बनाएर बेच्न पनि कठि भएको उनी बताउँछन् । सरकारले पुर्ख्यौली पेशालाई पनि प्रोत्साहन गरेर बजार प्रवर्द्धन गरिदिए राम्रो हुने उनको तर्क छ ।

दिनमा मुस्किलले दुई देखि तीन वटा सिलौटो तयार गर्न सकिन्छ । एउटामा चार सयदेखि पाँच सय नाफा हुन्छ । त्यो पनि कुनै बेला व्यापार हुदैन, उनले सुनाए ।

अरु पेशा अंगाल्न नसकेको कारण बाध्यताले यहि पेशामा लाग्नुपरेको अनुभव सुनाउँदै उनले पुर्ख्यौली पेशामा बजार व्यवस्थापन र सरकारको योजना नभएको बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.