काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्व अध्यक्ष कमल थापाले राप्रपा नेपाल ब्युँताउने तयारी गरेका छन् । थापाले सोमवार राजधानीमा आफु निकट नेताहरुलाई आमन्त्रण गरि सो वारेमा जानकारी दिएका हुन् ।
पार्टीमा आफुलाई अध्यक्षले लगातार पेल्दै गएको बताउँदै थापाले आफु निरीह बनेर नबस्ने बताएका हुन् । उनले सभामा पार्टीको नाम भने खुलाएनन् । तर आफु नयाँ पार्टी दर्ता गरेर जाने तयारी गरेको बताएका हुन् । आफुले मात्रै कुरा राखेर सकाएको बैठकमा उनले आफुलाई साथ दिने नदिने सोच्न नेताहरुलाई आग्रह गरेका थिए ।
अध्यक्ष लिङदेनलाई निर्वाचनको मिति घोषणा र त्यसको एक महिनासम्म आफुले अल्टिमेटम दिएको पनि थापाले बताएका छन् । उनी निकट नेताका अनुसार थापाले राप्रपा नफुटाउने तर उनकै नेतृत्वमा पुनः राप्रपा नेपाल दर्ता गरि अघि बढ्ने तयारी रहेको क्विक नेपाललाई बताएका छन् ।
यदि मैले उठाउँदै आएका विषयवस्तुहरु सम्बोधन भएनन् भने म यत्तिकै निरीह भएर बसिरहन सक्दिनँ, अर्को विकल्पमा जानैपर्छ । त्यो भनेको नयाँ पार्टी बनाएर जाने नै हो । मलाई साथ दिने वा नदिने विषयमा तपाईंहरु आफ्नो निर्णय लिन स्वतन्त्र हुनुहुन्छ । म कसैलाई पनि करकाप गर्दिनँ ।, थापाले भनेका छन् ।
थापा आफुले पहिले नै कसम खाएका कारण राप्रपा फुटाउने पक्षमा नभएको उनी निकट नेता उपाध्यक्ष बुद्धिमान तामाङले बताएका छन् । तर थापाले राखेका मागहरु सम्बोधन नभएको खण्डमा नयाँ पार्टी दर्ता गरेर जान सक्ने अवस्था रहेको बताइएको छ ।
थापाले राप्रपाको एकताको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहको हस्तक्षेपकारी भुमिका रहेको भन्दै छानविन गर्न माग गरेका छन् । उनको माग राप्रपामा सम्बोधन हुने संभावना न्युन छ । त्यस कारण पनि थापाले पार्टी दर्ताको सबै तयारी सकाएर बसेका छन् । थापाले दर्ता गर्ने नयाँ पार्टीले राजसंस्थाको एजेण्डा नबोक्ने बताएको छ । हिन्दुराज्यको एजेण्डा लिएर थापा नयाँ पार्टीसहित निर्वाचनमा जाने संभावना बलियो छ ।
राप्रपामा बहुमत पदाधिकारी थापा पक्षका छन् । आवश्यक परे ४० प्रतिशत पुराएर कुनै पदाधिकारीलाई नेतृत्व गराएर राप्रपा विभाजन गर्न सक्ने आधार पनि थापासँग छ । तर उनी अहिले त्यो विकल्पमा प्रस्तुत भएका छैनन् । भेलामा आफु निकटका नेताहरुलाई आफ्नो धारणा बनाउँदै गर्न आग्रह गर्दै थापाले आफु नयाँ पार्टी दर्ताको अन्तिम तयारीमा आइपुगेको बताएका हुन् ।
भेलामा राप्रपाका थापा पक्षधर पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको सहभागिता रहेको थियो । जसमा उपाध्यक्षहरू ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ, रोशन कार्की तथा महामन्त्री कुन्ती शाहीलगायत केन्द्रीय पदाधिकारीहरु उपस्थित भएका थिए ।