जनकपुर । जनकपुर स्थित काव्या अस्पतालमा आमा र नवजात शिशुको मृत्यु भएपछि अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि हातपात समेत गरिएको छ । मृतक महिलालाई आफ्नो रगत दिएर बचाउन खोजेका चिकित्सक डा. रमित राज माथि नै पिडित पक्षबाट हातपात भएको हो ।
सोमबार राती अस्पताल भर्ना भएकी धनुषाधाम नगरपालिका -७ किसानपुरका यैजुव अन्सारीकी गर्भवति रहेकी २५ वर्षिय श्रीमति मुर्सरफ खातुन सिकिस्त भएपछि उनलाई काव्या अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा उनको शल्यकृया मार्फत बच्चा निकाल्दा एउटा बच्चा मृत रहेको र अर्को बच्चाकाे पनि केहि घन्टा पछि मृत्यु भएको थियो ।
सिकिस्त अवस्थामा रहेकि खातुनको पनि उपचारकै क्रममा बुधवार विहान ७ः४५ मा मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पतालकै लापरवाहीका कारण नवजात शिशुको र खातुनको मृत्यु भएको आरोप लगाएका छन् । पिडित पक्षबाट अस्पतालमा तोडफोडका साथै चिकित्सकमाथि समेत हातपात भएको बताइएको छ ।
काव्या अस्पतालका संचालक डा. सुधेन्दु सिंहले महिला र नवजातको मृत्यु भएको कारण अस्पतालको लापरवाहीले नभई उनको अवस्था ज्यादै नाजुक र किडनी समेत काम गर्न छाडेपछि भएको बताएका छन् । डा. सिंहले पिडितले सोमबार राती फोन गरि एम्बुलेन्स मांगेकोमा तत्काल एम्बुलेन्स उपलब्ध नहुदा उनलाई अर्को एम्बुलेन्समा अस्पताल लिएर आउँदा लागेकाे एम्बुलेन्सको भाडा समेत अस्पतालले बेहोर्ने बताएका छन् ।
सो पश्चात राती करिब १२ बजे खातुनलाई अस्पताल भर्ना गरिएकोमा उनको बिपी २००,प्लेटलेट्स एकलाख पचास हजार भन्दा वढी हुनु पर्नेमा ४७ हजार,किडनीले काम नगरेपछि पिसाब बन्द भएकाे डाक्टरले बताए । अस्पतालले उनको उपचार सुरु गरेको र उनको शल्यकृया गर्नु पर्नेमा प्लेटलेट्सकाे कमि भएकोले तत्काल रगतकै आवश्यकता परेकोमा आफन्तबाट रगत उपलब्ध नभएपछि तत्काल ड्युटीमा कार्यरत डा.रमित राज र एकजना अन्य स्वास्थ्यकर्मीले रगत दिएर शल्यकृया सुरु गरिएको डा.सिंहले बताए ।
डा.सिंहले थपे,“स्त्रिरोग विशेषज्ञ डा.सोनिया सिंह र डा. मुकेश गामी तथा एनेस्थेसियाका डा. विनय महासेठको टोलीले गरेको शल्यकृयामा एउटा नवजात शिशु मृत अवस्थामा निकालिएको र अर्कोको समेत अवस्था ज्यादै नाजुक रहेको उनलाई तत्काल भेन्टिलेटरमा राखियो । तर सो वच्चा समेत बाच्न सकेन र केहि घन्टामै मृत्यु भयो यता किड्नी नै काम नगरेको अवस्थामा मृतक खातुनलाई अन्यत्र लग्ने भए लग्नुस भनेर आफैले बताएको र पिडितपक्षले नै आफुसंग त्यही पैसा नभएको तपाईमाथि नै विश्वास रहेको भन्दै यहि उपचार गर्न भनेकाले उनलाई आईसियुमा राखेर उपचार सुरु गरिएको थियो । तर दुर्भाग्यवस उनलाई हामीले बचाउन सकेनौँ । हामी चिकित्सक छौ हामीले प्रयास गर्ने हो । हामीले भरपुर प्रयास गरेका हौ । ”
पिडित पक्षले अस्पतालको खर्च समेत धेरै हुने भएर चिन्तित रहेकोमा आफुले नै उनलाई खातुनलाई बचाउन असमर्थ भए एक पैसा समेत अस्पतालमा तिर्नु नपर्ने बताएको समेत डा.सिंहले बताए । उनले दुई दिनको अवधीमा ७ प्याकेट रगत आवश्यक परेकोमा सो मध्ये ५ पोका अस्पतालका कर्मचारीले नै दिएको बताए । डा.सिंहले आफुले प्रतिकृया दिएको सम्पुर्ण कुराहरुकाे सिसिटिभी फुटेज सहितको प्रमाण सुरक्षित रहेको बताए ।