संविधान दिवसको दिन आयौं

दिग्भ्रमितलाई चिर्न स्वतन्त्र, स्वच्छ र निष्पक्ष सञ्चारमाध्यमको आवश्कता छ । जसलाई महसुस गर्दै व्यावसायिक पत्रकारितामार्फत् आमनेपाली समाजलाई रुपान्तरण गर्ने अठोटका साथ हामी उपस्थित भएका छौँ । 

हामी आजबाट औपचारिक रुपमा तपाईंहरुसामु उपस्थिति भएका छौँ । गोरखा भारत जीवन, सुधासागर, गोरखापत्रजस्ता प्रिन्ट मिडियाबाट अगाडि बढेको नेपाली पत्रकारिता परिष्कृत डिजिटल प्रविधिसँगै आमपाठकको मन पनि जित्न सफल भएको छ । जसका कारण नेपाली मिडिया जगतमा एकछत्र राज गरेका मूलधारका प्रिन्ट मिडया प्रिन्ट मिडियामै कायम रहँदा संकटमा परिने आशंका गर्दै डिजिटलाइजेसन भएका छन् ।

डिजिटल मिडियाले राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणका लागि खेलेको भूमिकाकै कारण आमपाठकको मन जित्न सफल भएको छ । र, आमपाठकमाझ आफ्नो प्रभाव र पहुँच स्थापित गर्न सफल डिजिटल न्युज पोर्टलको संङ्ख्या दिन दुई गुणा, रात चार गुणा थपिने क्रम जारी छ ।
जुन खुसीको कुरा पनि हो । तर, हरेक सिक्काका दुई पाटा भएझैँ सङ्ख्यासँगै विकृति र विसंगति पनि बढ्दो छ । जसका कारण आमपाठक दिग्भ्रमित छन् ।


त्यस्ता दिग्भ्रमितलाई चिर्न स्वतन्त्र, स्वच्छ र निष्पक्ष सञ्चारमाध्यमको आवश्कता छ । जसलाई महसुस गर्दै व्यावसायिक पत्रकारितामार्फत् आमनेपाली समाजलाई रुपान्तरण गर्ने अठोटका साथ हामी उपस्थित भएका छौँ । हाम्रो लक्ष्य डिजिटल न्युज पोर्टलको संख्या थप्नु मात्र नभई आमपाठकको विश्वास जित्दै राजनीतिक, आर्थिक, सामाजिक, कला/साहित्यको श्रीवृद्धि र रुपान्तरणमा केन्द्रित हुनेछ ।


हामी भूलचुकबाहेक जानी–जानी कुनै पनि गल्ती नगर्ने प्रण गर्छौं । कथंकदाचित गल्ती भइहालेमा सच्चिने मौका दिनुहुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौँ । करिब दुईतिहाइ नजिक रहेको सरकारको सट्टा बनेको सरकारले मन्त्रिमण्डल विस्तार गर्न नसक्नु र पछिल्लो राजनीतिक अस्थिरताले आमजनता राजनीति र सरकारप्रति पूर्ण आशावादी छैनन् । राज्यले लिएको नीति र कार्यान्वयनमा स्थिरता छैन ।

संविधान कार्यान्वयनसँगै कुनै एक दल सरकारमा छँदा लिएको नीति अर्को दलको सरकारले निरन्तरता दिने आशा गरिएता पनि सो क्रम भंग हुने संकेत निरन्तर देखिदैछन् । जसले कुनै अमुक समूह, दलको स्वार्थ, आकांक्षा, रोष र तुष्टि पूरा गरे पनि आमनागरिकको आकांक्षा र समृद्ध नेपालको सपनामा भने ठेस पक्कै लाग्नेछ ।

हुन त यो समय नेपाली पत्रकारिता जगतका लागि त्यति उत्साहप्रद छैन । कोभिड–१९ का कारण प्रभावित अर्थतन्त्र अझ तंग्रिन नसकेकै कारण आर्थिक पाटो कमजोर हुने सम्भावना छँदै छ । अर्थतन्त्र चहलपहल नभए पनि राजनीतिक, सामाजिक, साहित्य र कला भने निरन्तर अघि बढिरहेका छन् । हाम्रो लक्ष्य यिनै कुराको रुपान्तरण हो ।

यो असहज परिस्थितिमा पनि जोखिम मोल्न तयार भएर हामी अघि बढेका छौँ । आशा छ, यहाँहरुले हामीलाई पूर्ण साथ दिनुहुनेछ । अन्त्यमा, पाठकवृन्द, विज्ञापनदाता, शुभेच्छुकलाई संविधान दिवस तथा क्विक नेपालको समुद्घाटनको अवसरमा हार्दिक मंगलमय शुभकामना दिन चाहन्छौँ ।
धन्यवाद ।

केशव घिमिरे
प्रकाशक

© 2021 Quicknepal.com  |  All Rights Reserved.