बीमा कम्पनीको सीईओ नियुक्तिमा अर्थमन्त्री र देउवापत्नीको स्वार्थ, बरालका लागि नयाँ प्रक्रिया थाल्न गोप्य पत्र

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तिको विषयमा अर्थमन्त्रालयले हस्तक्षेप गरेको छ । 

प्रक्रियामा अघि बढेको कम्पनीको सिईओ नियुक्तीमा अर्थमन्त्री जनादर्न शर्माले चासो दिएपछि मन्त्रालयले पत्र नै पठाएर सबै प्रक्रिया रद्द गर्न निर्देशन दिएको हो । 

अर्थमन्त्री शर्मादेखि प्रधानमन्त्रीपत्नी आरजू राणासम्मले आफ्ना नजिकलाई सिईओ बनाउन खोजेपछि सहमति नभएको भन्दै अर्थमन्त्रीको निर्देशनमा मन्त्रालयले पत्र पठाएर प्रक्रिया रद्द गर्न लगाएको हो । 

देउवा पत्नीकै दबाबमा विवादित छविका शेखर बराललाई सर्ट लिस्टमा राखेको थियो । अर्थमन्त्रीलाई पनि देउवा पत्नीले सहमतिमा ल्याएर बराललाई सिईओ बनाउने तयारी गरेपनि उनी भन्दा अगाडी दुई जनाको वरियता देखिएपछि प्रक्रिया रद्द गर्न अर्थमन्त्रालय एकाएक सक्रिय भएको स्रोतले बतायो । 

महाशाखा प्रमुख रमेश केसी र अर्थसचिव मधुकुमार मरासिनीलाई निर्देशन दिँदै अर्थमन्त्रीले प्रक्रिया रद्द गर्न पत्र पठाएका हुन् । नमिलेको क्राईट एरिया पुराएर बराललाई नै सीईओ बनाउन सहज हुने गरी नयाँ प्रक्रिया थाल्न अर्थमन्त्रीले दवाव दिएका बुझिएको छ । 

सीईओ छान्नको लागि अर्थमन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा समिति बनेको छ । ११ जनाले सिईओका लागि आवेदन दिएका छन् । समितिले उनीहरूमध्येबाट रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बराललाई सर्टलिस्टमा पारेको थियो ।

आर्थिक अनियमिततामा दण्डित रहेका बराललाई प्रधानमन्त्री देउवापत्नी र अर्थमन्त्री साझा उम्मेद्वार बनाए पनि उनी बरियतामा तेश्रो स्थान रहेपछि समस्या उत्पन्न भएको हो ।

बरालले लुम्बिनी जनरल इन्स्योरेन्समा छँदा नक्कली बीमा दाबी भुक्तानी गराएको आरोपमा बीमा समितिले १० हजार रूपैयाँ जरिवाना गराएको थियो । बरालले विमत्ति र सर्भेयरसँगको मिलेमतोमा नक्कली कागजपत्र बनाएर ३८ लाख रूपैयाँ दाबी भुक्तानी गरेको ठहर बीमा समितिले गरेको थियो । संस्थागत सुशासन निर्देशिकाअनुसार आर्थिक अनियमिततामा मुछिएका व्यक्ति सीईओ बन्न सक्दैनन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.