झापा। नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सहिष्णुता सिक्न सुझाव दिएका छन् ।आइतबार झापाको विर्तामोडमा महाधिवेशनका लागि चुनावी अभियान कार्यक्रमको संवोधन गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री भइसकेको मान्छेको मुखबाट तुच्छ गाली गलौज शब्द उच्चारण हुनु असल राजनीतिको संस्कार नभएको बताएका हुन ।
उनले भने, ‘उहाँकै पार्टीका नेता सुवासचन्द्र नेम्बाङकै भाषामा भन्ने हो भने उहाँको नाम अहिले मैले बिर्सें। तर उहाँका मुखबाट निस्किएका गालीले कसैलाई पनि भलो गर्दैन।’
कम्युनिष्ट पार्टीको सरकारले स्थिरता दिन सकेन भनेर मात्र कांग्रेसलाई नपुग्ने शर्माको भनाइ थियो। उनले भने, ‘के गर्दा स्थिरता भएन र के गर्दा स्थिर सरकार बन्न सक्छ भन्ने कुरा कांग्रेसले अध्ययन गर्न जरुरी छ।’
उनकै गृह जिल्ला झापाको बिर्तामोडको अग्रसेन भवनमा खचाखच नेपाली कांग्रेसका नेता तथा कार्यकर्तामाझ उनले राजनीतिमा युवावर्गको आकर्षण बढाउनु पर्नेमा जोड दिए। राजनीतिमा युवा आकर्षित नभए भविष्यमा देशले राजनीति गर्ने मान्छे नपाउने शर्माको भनाइ थियो।
उनले संविधानको कार्यन्वयन हुन सक्ने भन्दै विकाश र समृद्धिको नारा साकार पार्न एउटा पार्टीको मात्र मुल एजेण्डा नभएको बताएका छन् ।
विकाश कुनै दलको पेवा नभएको भन्दै उनले मुलुकको सुन्दर भविष्य निर्माण गर्न सवै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले भने, ‘कुरा पार्टीका होलान् तर विकास गर्दा देशको विकास हुन्छ। विकास र समृद्धिको नारा देशको नारा हुनुपर्छ।’