उपत्यकाव्यापी दौड प्रतियोगितामा विश्वराम र मनिषा पहिलो

काठमाडौं । जेसिस मावि भक्तपुरका विश्वराम कुँवर र बिजेश्वरी ज्ञान मन्दिर काठमाडौंकी मनिषा गिरी माध्यमिक विद्यालयस्तरीय उपत्यकाव्यापी सडक दौड प्रतियोगितामा पहिलो भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)द्वारा शनिवार आयोजित दौडको छात्र पाँच किलोमिटर दुरी विश्वरामले १७ मिनेट ०७.४ सेकेन्डमा पूरा गरे । पिनाकल एकेडेमी, ललितपुरका विकेश घिमिरे दोश्रो, बागेश्वरी मावि, भक्तपुरका अमराज थापा तेश्रो, सैनिक आवसिय मावि, भक्तपुरका ईश्वरचन्द्र बस्नेत चौथो र बागेश्वरीका अविराज राईले पाँचौं स्थानमा दौड टुंगाए ।

छात्राको तीन किलोमिटर दुरी मनिषाले १५ मिनेट १५.८ सेकेन्डमा सकिन् । दोश्रोदेखि चौथो स्थान हासिल गर्नेमा क्रमशः जेसिसकी प्रकृति सुवाल, नेपाल आदर्श मावि, काठमाडौंकी सरिता साह, जेसिसकी उर्जा मधिकर्मी र जेसिसकै स्वागता खाइजु छन् । दुवै समूहमा शीर्ष पाँच स्थान हासिल गर्नेले क्रमशः १० हजार, सात हजार, पाँच हजार, चार हजार र तीन हजार नगद पुरस्कार पाए ।

विजेतालाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, खेलकुद मन्त्रालयका सविच डा। दामोदर रेग्मी, राखेपका निमित्त सदस्य–सचिव कुलबहादुर थापा, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

त्यसअघि दौडको मन्त्री गहतराजले नै उद्घाटन गरेका थिए । ७२औँ प्रजातन्त्र दिवसका अवसरमा आयोजित दौडमा दुई सय प्रतिस्पर्धी सहभागी भएको खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले जनाएका छन् । दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः दशरथ रंगशालामै आएर टुंगिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.