भारत हुँदै इलाम घुम्नेको संख्या बढ्यो, प्रेमिल जोडीको रोजाईमा कन्याम (फोटो फिचर)

इलाम । ऐतिहासिक, भौगोलिक, प्राकृतिक, सांस्कृतिक लगायत अन्य विविध सौन्दर्यताले निपुण जिल्ला हो इलाम । इलामको मनमोहक रमणीय स्थलहरुले पर्यटकलाई आकर्षित गर्र्नेगर्छ । यहाँको सौन्दर्यताले जोकोहीलाई लोभ्याउँछ । त्यसैले त दिनानु दिन यहाँ आन्तरिक तथा बाह्य पर्यटकको उपस्थीति बाक्लिदैँ गएको छ । वि.सं.२०७२ साल यता इलाममा घुम्न आउने पर्यटकको ग्राफ निरन्तर उकालो लागेको छ । इलाम पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरेले दिएको तथ्याङ्कअनुसार कोरोनाको समयमा पनि इलाममा पर्यटकहरु ह्वात्तै बढेको देखिन्छ  । जसमा भारतीय पर्यटकहरुको संख्या अधिक छ ।

७२ सालदेखिको हालसम्मको तथ्याङ्क 
वि.सं. २०७२/७३ सालको वार्षिक विवरणअनुसार आन्तरिक र बाह्य गरी जम्मा १४८४० जना पर्यटक भित्रिएका थिए । जसमा ५२८० जना महिला पर्यटक थिए भने ९५६० जना  पुरुष पर्यटक थिए । सोही सालको तथ्याङ्क विवरण अनुसार आन्तरिक पर्यटक १४६२२ जना थिए भने बाह्य पर्यटक २१७ जना थिए । २१७ जना मध्ये २०० जना भारतीय थिए भने १७ जना विश्वका अन्य देशका पर्यटक थिए । 

त्यस्तै वि.सं.२०७३/७४ सालको वार्षिक विवरणलाई हेर्ने हो भने महिला २९८२९ जना र पुरुष ३६४७० जना गरि जम्मा ६६२९९ जना पर्यटक आएका थिए । जसमा आन्तरिक ६६१४५ जना र बाह्य १५४ जना आएका थिए । बाह्यमा भारतीय ७८ जना थिए भने अन्य देशका ७६ जना थिए । सो वर्ष इलामको पशुपतिनगरमा १७१९२ जना, इलाममा १७५५६ जना, कन्याममा २४०५२ जना फिक्कलमा ४३३२ जना, फिदिममा १०२ जना, माइपोखरीमा ४० जना लगायत अन्य ठाँउमा पनि पर्यटकहरु घुमेका थिए । 

त्यसैगरी २०७४/७५ सालको वार्षिक विवरण अनुसार इलाममा ४४४५४ जना महिला र ४९५२२ जना पुरुष गरि जम्मा ९३९७६ जना पर्यटक आएका थिए । जसमा ९३८१२ जना आन्तरिक तथा १६४ जना बाह्य पर्यटक आएका थिए । सो साल १४५ जना भारतीय पर्यटक आएका थिए भने १७ जना विश्वका विभिन्न देशबाट आएका थिए । कन्याममा ३२८६० जना,फिक्कलमा ८१९६ जना,पशुपतिनगरमा १९१२९ जना,फिदिममा १३० जना, माइपोखरीमा ५३ जना लगायत अन्य ठाउँमा घुमेका थिए ।   

वि.सं. २०७५/७६ सालको वार्षिक विवरण अनुसार ६२६१० जना महिला र ७१४६७ जना पुरुष गरि जम्मा १३४०७७ जना पर्यटक आएका थिए । जसमा १३३४९७ जना आन्तरिक पर्यटक आएका थिए भने ५८० जना बाह्य पर्यटक आएका थिए । भारतीय पर्यटक ५११ जना आएका थिए भने ६९ जना विश्वका अन्य देशका पर्यटक थिए । 

त्यस्तै वि.सं.२०७६/७७ सालको वार्षिक विवरण अनुसार ५८०१३ जना महिला र ७१००७ जना पुरुष गरि जम्मा १२९०२० जना पर्यटक आएका थिए । जसमा आन्तरिक पर्यटक १२८०६४ जना रहेका छन् भने ९५६ जना बाह्य पर्यटक आएका थिए । 

वि.सं. २०७७/७८ को वार्षिक विवरण अनुसार महिला १४५३९ जना र पुरुष २५२६२ जना गरि जम्मा ३९८११ जना आएका थिए । सो कोरोनाको समय भएको हुनाले आन्तरिक पर्यटक मात्रै आएका थिए ।  

त्यस्तै वि.सं.२०७८ सालको पुस महिनाको विवरण हेर्ने हो भने यो महिनामा मात्रै ३२७७४ जनाले इलामलाई भ्रमणको थलो बनाएका छन् । जसमा महिला १६१२५ जना र पुरुष १६६४९ जना रहेका छन् । गत महिनामा आन्तरिक पर्यटक ३०२३४ जना आएको देखिन्छ भने २५४० विदेशी पर्यटक आएको देखिन्छ । जसमा अधिकांश भारतीय पर्यटक छन् । 

गत महिनाको १७ गते सबै भन्दा बढी पर्यटक आएका थिए । जुन दिन ११४८ जना भारतीय पर्यटक थिए ।

कोरोना कहरको समयमा भारतीय पर्यटकको संख्या बढेको इलाम पर्यटन सूचना केन्द्र जोरकलसका सूचना अधिकृत गगन घिमिरले क्विक नेपाललाई बताए । 

भारतकोआसाम, कलकत्ता, विहार, गुजरात, सिलिगुड्डी, महाराष्ट्र, उत्तराखण्डलगायतको ठाँउबाट पर्यटक आउने गरेको घिमिरे बताउँछन् । पछिल्लो समय अन्य नाका भन्दा काँकडभिट्टा नाका प्रयोग गरेर आउनेको संख्या बढेको उनको भनाई छ । 

पहिला नेपालीहरु भारत घुम्न जान्थे अहिले भारतीयहरु नेपालको इलाम घुम्न आउने गर्छन् । इलामलाई पर्यटकीय नगरीको रुपमा विकास गरि नेपाली कला, संस्कृति, भेषभुषा र खानाका परिकारले पनि पर्यटक लोभ्याउन सकने गरि प्रवर्द्धन गर्नुपर्ने घिमिरेको भनाई छ । 

हिजोको दिनमा इलामको बाटो हुँदै नेपाली विभिन्न भू–भागका मानिसहरु भारतको सिक्किम दार्जिलिङ लगायतको अन्य ठाँउमा घुम्न जान्थे । तर अहिले समयसँगै परिस्थिति फेरीएको छ सोही बाटो हुँदै अहिले भारतका दार्जिलिङ, आसाम, कलकत्ता, विहार, गुजरात, सिलिगुड्डी, महाराष्ट्र, उत्तराखण्डलगायत अन्य  भू–भागका मानिस इलामको विभिन्न ठाँउ घुम्न आउँछन् । जसले देशको आर्थिक उन्नत्तिमा टेवा दिएको छ । 

10.jpg

पर्यटक बढेपछि इलामका व्यवसायीहरुको आर्थिक समृद्धि

कोरोनाको समयमा इलाममा बढेको पर्यटकले पर्यटकीय स्थल वरपरको व्यवसायीहरुको आर्थिक समृद्धि हुन थालेको छ । यहाँ दुई खाले व्यवसाय फस्टाएका छन् । एउटा भनेको घोड्चडी अर्को भनेको होटेल व्यवसाय । त्यस्तै सांस्कृतिक पहिरहनका व्यवसायहरु पनि छन् ।

श्रीअन्तुका होमस्टे सञ्चालक रुद्र घिमिरे कोरोना पछिको आन्तरिक तथा बाह्य पर्यटकको आगमनले व्यवसाय गर्नमा उत्साह थपेको बताउँछन् । उनी पर्यटकको आगमनको वृद्धिले होटेल व्यवसाय मात्रै नभएर इलामको तरकारी व्यापारी, छुर्पी व्यापारी,घोडा व्यवसायी सबैको आम्दानीमा सुदृढीकरण भएको उल्लेख गर्छन् । पहिलाको भन्दा अहिले इलामबासीको जनजीवनमा सुधार आएको उनको ठम्याईछ । 

पछिल्लो समयमा सबै खर्च काटेर पनि मासिक रुपमा ३५,४० हजार देखि ७०,८० हजारसम्म आम्दानी हुने गरेको उनले क्विक नेपालसँग भने ।  त्यस्तै अर्का व्यापारी धन कुमार आलेपनि पछिल्लो समयको व्यापारीक सुधारले सबै व्यवसायीलाई व्यस्त बनाएको र जस्ले गर्दा अर्थकोपार्जन गर्न सहज भएको बताउँछन् । 

आम्दानी राम्रो हुन थालेकोले होटल व्यवसाय व्यापाक रुपमा बढेको छ । एउटा पर्यटकले नर्मल रुपमा एकदिनमा १०० देखि १२०० सम्म खर्च गर्ने गरेको पाइएको, जस्ले इलामको आर्थिक समृद्धिमा व्यापक सुधार आएको जोरकलसका पर्यटन सुचना अधिकृत घिमिरे बताउँछन् । 

इतिहासमा इलाम

हिजो पूर्वाञ्चल विकासक्षेत्रको मेची अञ्चलका चार जिल्लामध्येको एक पहाडी जिल्ला इलाम । हाल १ नम्वर प्रदेशका १४ जिल्ला मध्ये एकमा  पर्दछ । 

इलामको पुरानो नाम खलङ्गा भएको केही प्राचीन लेखहरूमा उल्लेख छ । इश्वीको १३०० वर्ष अघि पर्सिया (हालको इरान) का इलाम बंशी राजाले दक्षिण पश्चिम पर्सियाका काशी बंशी राजालाई बिजय गरी सदाका लागि देश निकाला गरे र तिनीहरु पूर्वतर्फ लागे । तिनै मानिसहरु यहाँ आई बसोबास गरे र आफ्नो जन्मभूमिको सम्मानमा यो ठाउँको नामपनि इलाम राखे ।

इलामको अर्थ लेप्चा भाषामा पुत्का (एक प्रकारको मौरी) को मह हुन्छ, भने लिम्बु भाषामा घुमाउरो बाटो हुन्छ । प्राचिन शास्त्रीय मत अनुसार राजा सरियातिले पुत्र प्राप्तिका लागि हालको माईपोखरीमा पुत्रेष्ठि यज्ञ गरे । उनकी पत्नि छोराको सट्टा छोरी चाहन्थिन र यज्ञ गर्ने ब्राम्हणलाई खुसुक्क छोरी जन्मने यज्ञ गरिदिन आग्रह गरिन् । ब्राम्हणहरुले पनि रानीको आग्रह अनुरुप छोरी जन्मने यज्ञ गरिदिए र छोरी (इला) जन्मिन् । छोरी जन्मेको देखेर राजा सरियाती (इला–छोरी र मा चाहिदैन) इलामा भन्न थाले । यही इलामा पछि इलाम भयो भन्ने पनि भनाई छ ।

नेपाल एकीकरण पूर्व दश लिम्वुवानको एक अंग स्वशासित प्रशासनमा रहेको थियो । यसक्षेत्रको सदरमुकाम नागरिगढीमा थियो । सुगौली सन्धिपछी २ वर्ष करफोक (लाप्चा भाषामा ढुकुर बस्नेठाउँ) मा वसेपछि विक्रम सम्वत १८७५ मा सदरमुकाम इलामडाँडामा सारियो । त्यसैले यो एकीरणकै समयदेखिको पुरानो सदरमुकाम कायम रहिरहेको जिल्ला पनि हो । नागरिगढीका पहिलो सुब्बा (प्रशासकीय प्रमुख) जयन्त खत्रीले नै सदरमुकाम करफोक हुदै इलाम डाँडामा सारेका थिए ।

किन जाने इलाम ?
सन्दुकपुरमा हिउँ खेल्न र इलामका डाँडाहरुमा फूल्ने लालिगुराँससँग रमाउन ।  श्रीअन्तुको सूर्योदय र घोडचडी मार्फत कन्यामको चिया बगान घुम्न । त्यत्ति मात्र होइन,रुङ गाउँपालिकाको २९ कि.मि कसम पदमार्गमा पैदल यात्रा गर्न । जुन पदमार्ग भारतको सिमानाबाट पाथिभारा मन्दिरसम्म जोडिएको छ ।       

इलामको पशुपतिनगर,माबुथाम,सेतीदेवी,माईस्थान,नारायणस्थान,गजुरमुखी,माङमालुङ,सिद्धिथुम्का,माईपोखरी,माईबेनी,बौद्ध समुदायको साधना केन्द्र डुख्याङ गुफा, बौद्ध गुम्बा, रमिते ढुङ्गा, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु पाइने बलुबन, भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग लगायत थुप्रै आर्कषक स्थलहरुसँग रम्न । 

9.jpg

मनमोहक इलाम
महाभारत र शिवालिक पर्वत शृङ्खलाको पूर्वदक्षिण काखमा अवस्थित नेपालको सुदूरपूर्वी पहाडी जिल्ला इलाम वास्तवमै प्राकृतिक दृष्टिले रमणीय छ । यहाँको चियाबारी, हरियाली, सानाठूला नदीनाला, पोखरी, मठमन्दिर, पर्वतीय शिखरहरु (श्री अन्तु, सन्दकपूर, सिध्दिथुम्का आदि) तथा अन्य प्राकृतिक सुन्दरता आदिले पर्यटकलाई आकर्षण गरिरहेका छन् ।

प्रकृतिको वरदानको साथै सांस्कृतिक, र प्राकृतिक पक्षहरूमा समृद्ध यो जिल्ला ‘पूर्वी पहाडकी रानी’, नगदेबालीको खानी’जस्ता उपनामले चिनिन्छ । इलाम जिल्लालाई विभिन्न ‘अ’ (हाल आठ) ‘अ’ को जिल्ला भनेर चिनिने गरेको छ । ‘अ’ को अर्थ अलैंची, अदुवा, अर्थोडक्स चिया, अकबरे खुर्सानी, ओलन, अम्रिसो, आलु र आतिथ्यले परिभाषित गरिन्छ । हाल किवि फलको उत्पादन पनि बढिरहेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको चारआलीबाट मेची राजमार्गमा ७८ किलोमिटरको दूरी पार गरेपछि इलाम सदरमुकाम पुगिन्छ । भारतको दार्जिलिङसँग सीमा जोडिएको इलाममा हल्का भिराला पहाड, ससाना थुम्काथुम्कीमा देखिएको हरियाली एवं स्वच्छ हावापानीबाट पर्यटकहरू आकर्षित हुने गर्छन् । 

मनै लोभ्याउने प्राकृतिक सौन्दर्य नै यहाँको प्रमुख आकर्षण मानिन्छ । सन्दकपुर, छिन्तापु, श्रीअन्तु, सिद्धिथुम्काजस्ता रमणीय पहाडहरू यस जिल्लामा रहेका छन् । जहाँ सयौं प्रजातिका चराहरू तथा विश्वकै दुर्लभ मानिएका रेड पाण्डा, दुम्सी, सालक लगायतका जनावरहरू पाइन्छ । यहाँका ऐतिहासिक बौद्ध गुम्बा, मन्दिर तथा लोपोन्मुख लाप्चा जातिका साथै राई, लिम्बु लगायतका अन्य जातजातिको संस्कृति नै इलामको सांस्कृतिक आकर्षण र पहिचान हो ।

विभिन्न जातजातिको आवासभूमि इलाम सांस्कृतिक रूपले अनेकतामा एकताको थलोका रूपमा पनि चिनिन्छ । लाप्चा, लिम्बू, राई, तामाङ, गुरूङ, शेर्पा, क्षेत्री, ब्राह्मण, नेवार आदि सम्प्रदायका मानिस यस जिल्लामा बसोबास गर्छन् । धान नाच, च्याब्रुङ, चण्डी नाच, मारुनी नाच, बालन, सगिँनी, डम्फु नाच आदि यहाँका जातीय सांस्कृतिक परम्परा हुन् ।

4.jpg

धार्मिक तथा पर्यटकीय स्थल 

१. फिक्कल 
झापा–इलाम मेची राजमार्गको बीच खण्डमा पर्ने फिक्कल इलामको पूर्वी व्यापारिक केन्द्र हो । यहीबाट सीमावर्ती पशुपनिनगर जाने बाटो छुट्दछ । यसले इलामको उत्तर पूर्वी भागमा रहेका नयाँ बजार, गोर्खे लगायतकका क्षेत्रसँग सोझो व्यापारिक कारोबार गर्दछ । व्यापारिक दृष्टिले मात्रै होइन पर्यटनका दृष्टिबाट पनि यो ठाउँ महत्वपूर्ण रहँदै आएको छ । मेची राजमार्गमा चल्ने सवारी साधनको मुख्य बिसौनी थलो पनि फिक्कल नै हो । लाप्चाहरुको बसोबास भएको फिक्कल क्षेत्र साँस्कृतिक दृष्टिबाट पनि महत्व राख्दछ । यस क्षेत्रमा रहेका फेन्सोङ गुम्बा (वडा नं ६) र याङथोङ गुम्बा (वडा नं. १) ऐतिहासिक गुम्बाहरु हुन् । पान्दाममा रहेको काजी कोठी लाप्चाहरुको ऐतिहासिक महत्वको थलो हो ।

२. कन्याम
इलाम सदरमुकामबाट ४४ किलोमिटरमा रहेको मेची राजमार्गमा पर्ने पर्यटकीय स्थल हो कन्याम । मेची राजमार्गमै पर्ने भएकाले कन्याम सबैको पहुँचमा पर्दछ । चियाबगानको रमणीय दृश्यका लागि प्रसिद्ध कन्यामले देशी विदेशी सबैलाई आकर्षित गर्दै आएको छ । दिनहुँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु चियाबगानको दृष्य अवलोकन, पिकनिक तथा घुमफिरका लागि आउने गर्दछन् । यहाँको चियाबारीको मनोरम दृष्य र चिसो हावापानीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरीरहेको छ । लेप्चा जातीको संस्कृति तथा ग्रामीण रहनसहन यहाँका अन्य पर्यटकीय आकर्षणहरु हुन् ।

5.jpg

३. पशुपतिनगर 
भारतको दार्जिलिङ्ग जिल्लासँग सीमा जोडिएको पशुपतिनगर भारततिरबाट नेपाल प्रवेश गर्ने प्रमुख पहाडी नाका हो । यहाँ दैनिक ठूलो संख्यामा दार्जिलिङ्गतिरबाट भारतीय पर्यटकहरु आउने गर्दछन् । यहाँको बजारमा तेस्रो मुलुकका सामग्रीहरु पाइने हुनाले दार्जिलिङ्ग भ्रमणमा आएका भारतीय पर्यटकहरु किनमेल गर्न यहाँ आउँदछन् । यहाँका होटेलहरुले पर्यटकहरुका आधारभूत मागलाई सम्बोधन गरेको छ । धार्मिक दृष्टिबाट पनि पर्यटकहरु यहाँ आउँदछन् ।

यहाँ पशुपतिनाथको मन्दिर छ । इलामको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सन्त स्वामी सोमेश्वरानन्दले यहाँ आश्रम बनाई बसेका थिए । उनले प्रयोग गरेको पानीको कुवा लगायतका ऐतिहासिक कुराहरुलाई संरक्षण गर्ने प्रयास भइरहेको छ । पशुपतिको रुङ्गसुङ्गमा रहेको दुईतले झर्ना अत्यन्त सुन्दर छ । त्यस्तै यसै गाविसको मेहेलबोटेमा अवस्थित मंगलधाम मन्दिर यस क्षेत्रका कृष्ण प्रणामी संप्रदायका मानिसहरुको मुख्य तीर्थस्थल रहिआएको छ । यस गाविसमा पुराना बौद्ध गुम्बाहरु समेत रहेका छन् । पशुपतिनगरको रुङ्सुङमा अवस्थित तीन तले झर्ना रहेको छ ।

४. श्रीअन्तु
लाप्चा भाषामा अन्तुको अर्थ अग्लो डाडाँ भन्ने हुन्छ । अन्तुडाँडा इलामको एक पर्यटकीय गन्तव्य हो । श्रीअन्तु नामले यसलाई चिनिए पनि बिगतमा समाल्बुङ र श्रीअन्तु गाविसको बीचमा पर्ने यो स्थान हाल सूर्योदय नगरपालकीकामा पर्दछ । यो समुद्री सतहबाट २ हजार ३ सय मिटर उचाइमा अवस्थित छ । अन्तु सूर्योदयको दृश्यावलोकनका लागि प्रसिद्ध छ । मेची राजमार्गमा पर्ने फिक्कल बाट १७ कि।मी। र नेपालको एक पूर्वी नाका पशुपतिनगरबाट २२ कि।मि को दुरीमा यो डाँडा रहेको छ । विसं ०४३ मा यसलाई दीपेन्द्र शिखरको नामकरण गरिएको भए पनि यो श्रीअन्तु वा अन्तुडाँडाबाट प्रसिद्ध छ ।

५. माईबेनी
माइखोला र जोगमाईको सङ्गमस्थललाई माइबेनी नामले चिनिन्छ । बिगतमा नाम्सालिङ गाविस र इलाम नगरपालिकाको सिमाना स्थान रहेको यो स्थान अहिले इलाम नगरपालिकामा पर्दछ । हरेक वर्ष माघ १, २ र ३ गते त्यहाँ मेला लाग्ने गर्छ । यो यस क्षेत्रकै महत्वपूर्ण तीर्थस्थल हो । माईबेनी इलाम बजारबाट करीब तीन किलोमिटर पूर्व पर्छ । 

६. माईपोखरी
विगतको माईपोखरी र सुलुबुङ गाविसको सिमानामा र हाल सन्दकपूर गाउँपालिकामा पर्ने इलामकै महत्वपूर्ण धार्मिक पर्यटकीय स्थल माईपोखरी हो । माइपोखरी इलाम सदरमुकाम देखि १५ कि।मि। को दुरीमा रहेको प्रर्वतीय सिमसार हो । यो नौओटा कुना भएको पोखरी निकै आकर्षक छ । यो तारा आकृतिको छ । १ दशमलव ८८ वर्गकिलोमिटर क्षेत्रफल रहेको यस पोखरीको अर्धव्यास ७ सय ५० मिटर छ । यो क्षेत्र जैविक विविधताका दृष्टिले पनि उत्तिकै महत्वपूर्ण रहेको छ । यो क्षेत्र हिन्दु, बौध्द तथा किरात धर्मावलम्वीहरुको साँस्कृतिक सगमस्थलको रुपमा पनि रहेको छ ।

विश्वमै मह्त्वपूर्ण कञ्चनजंघा भू–परिधि क्षेत्रको दीगो संरक्षण गर्न अत्यावश्यक जैविक मार्गको भूमिका निर्वाह गर्ने तथा विभिन्न रैथाने संकटापन्न र दुर्लभ जीबजन्तुहरु रहेको माईपोखरी क्षेत्रको ९० हेक्टर क्षेत्रफल (सन) २८ अक्टोवर २००८ मा विश्व रामसार क्षेत्रमा सूचिकृत भएको छ । यो रामसार क्षेत्र २०८० मिटर देखी २१६४ मिटर उचाइमा अवस्थित छ । यहाको तापक्रम क्रमशः गर्मीमा अधिकतम १८० सेल्सियस र जडोमा न्यूनतम २० सेल्सियसको वीचमा रहने गर्दछ । औषत वार्षिक वर्षा ३००० मी।मी भन्दा वढी हुने गर्दछ ।

उपोष्ण र समसितोषण हावा पानीको संगमस्थल माइपोखरी कञ्चनजंघा भू–परिधिको मध्य भागमा अवस्थित रहेको छ । अत्यन्त मनमोहक जङ्गलले घेरिएको यो स्थानमा विसं १९५४ मा स्वामी सोमेश्वरानन्दले निर्माण गराएको शिव मन्दिर पनि रहेको छ । माईपोखरीसँगै जोडिएको छिन्तापु चुचुरोको उचाइ ३ हजार २ सय मिटर छ, जसले महाभारत पर्वत श्रेणी र शिवालिक पर्वतश्रेणीलाई छुट्ट्याउँछ । यस क्षेत्रमा विभिन्न प्रजातिका लालीगुराँस तथा पुतलीहरू पाइन्छन् । त्यस्तै विश्वमै दुर्लभ मानिएको जीव ठकठके ९पानीगोहोरो० तथा पोखरीमा पाइने गलैंचे झ्याउ पनि यहाँ देख्न सकिन्छ । माईपोखरीमा कहिलेकाहीँ आउने छाललाई स्थानीय वासीले अनिष्टको सङ्केतका रूपमा लिने गर्छन् ।

७. छिन्तापु
सन्दकपुर गाउँपालिकामा माई पोखरी संगै जोडिएर रहेको यसको उचाई ३२०० मिटर रहेको छ । यसले महाभारत पर्वत श्रृखला र शिवालिक पर्वत श्रेणीलाई छुटयाउएको छ ।

8.jpg

८. सन्दकपुर
इलाम जिल्लाको उत्तरी भेगमा पर्ने जिल्लाकै उच्च चुचुरो हो । यसको उचाइ समुद्री सतहबाट ३ हजार ६ सय ३६ मिटर रहेको छ । यहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथासहित कञ्चन जंघा र भूटानसम्मका हिमशृङ्खलाहरू देख्न सकिन्छ । सूर्योदय, सूर्यास्त तथा कञ्चनजङ्घाको मनमोहक दृश्य यहाँबाट देख्न सकिन्छ । विभिन्न रङमा फुल्ने लालीगुराँस फूलका साथै अनेकौं प्रकारका स्थानीय जङ्गली फूलहरूले सन्दकपुरलाई सजाएको छ । यो नेपाल र भारतको सिमाना नजिकमा पर्छ । सन्दकपुर घुम्न नेपाल, भारतसहित तेस्रो मुलुकका पर्यटकहरू आउने गर्छन् । इलाम सदरमुकामबाट माईपोखरी, माईमझुवा हुँदै करीब ३० किलोमिटर सडक पार गरेपछि सन्दकपुर पुगिन्छ । त्यस्तै फिक्कलबजार बाट पनि नयाँबजार हुँदै ४५ कि।मि।को दुरीमा सन्दकपुर पुग्न सकिन्छ । यो सन्दकपूर नै माइखोलाको उद्गम स्थल पनि हो ।

९ सिद्धिथुम्का
समुद्री सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको सिद्धिथुम्का सदरमुकामबाट पश्चिममा पर्छ । यहाँबाट सूर्योदय, सूर्यास्त तथा चुरे र महाभारत शृङ्खला, तराईका विभिन्न फाँटको दृश्यावलोकन गर्न सकिन्छ । यहाँ पुग्न सदरमुकामबाट करिव १७ कि.मि. को यात्रा तय गर्नुपर्छ ।

१०. माङमालुङ
समुद्री सतहबाट २ हजार मिटरको उचाइमा अवस्थित माङमालुङ धार्मिक महत्व बोकेको स्थल हो । बाँझो र इभाङको बीचमा माङसेवुङ गाउँपालिकामा पर्ने यो स्थान किराँत धर्मावलम्बीहरूको एक पवित्र स्थल पनि हो । यस ठाउँलाई औतारी डाँडो भनेर पनि चिनिन्छ । यहाँ सिंह, सर्प, चिल आदि जीवजन्तुहरूको ढुङ्गाले बनेका मूर्ति तथा विभिन्न चित्र प्रशस्त छन् । मात्रिका किराँतेश्वरको गुफा यहाँको महत्वपूर्ण धार्मिक सम्पदा हो । यो जंगलभित्र शिवपार्वतीको विवाहको अवसरका दृस्य झलकाउने ढुङगाका जीवन्त र प्राकृतिक आकृतिहरु रहेका छन् ।

बेहुला बनेका शिव र उनको साथी (लोकेन्द्रे) अनी बेहुली वनेकी पार्वती र उनकी साथी (लोकन्द्री) मानिने मूर्तिहरु, शिवपार्वतीले खाना पकाउन वनाएको ढुङगाको चम्का (चुलो) सिहं आकृतिको प्राकृतिक ढुङगाको मूर्ति, शिव पार्वतीको कृडास्थल गुफा लगायतका विचित्र लाग्ने प्राकृतिक दृस्यहरु रहेका छन् । त्यस्तै एउटा विशाल ढुंङगा माथी अर्को विशाल ढुङगा रहेको छ । जसलाई सामान्य बलको प्रयोगबाट लरक्क हल्लाउन सकिन्छ । तर ढलाउन ÷ लडाउन भने सकिदैन । एउटा १ फिट जति गोलाईको प्वाल रहेको छ । त्यहाँबाट जाडो महिनामा तातो वाफ निस्क्न्छ र त्यसमाथी हात राख्न सकिदैन भनिन्छ । यि विषय वैज्ञानिक दष्टिकोणले पनि अध्ययन अनुसन्धान गर्न आवश्यक र उपयूक्त जस्तो लाग्दछ । इलाम सदरमुकामबाट र झापाको दमक तथा पाँचथरको रवि हुँदै पनि माङमालुङ जान सकिन्छ ।

6.jpg

११. गजुरमुखी
देउमाई खोलाको किनारमा रहेको गजुरमुखी देवीको मन्दिर समुद्री सतहबाट ७ सय मिटरको उचाइमा रहेको छ । यो पनि अर्को धार्मिक महत्व बोकेको स्थल हो । यहाँ कात्तिक पूर्णिमाको दिन ठूलो धार्मिक मेला लाग्छ । गजुरमुखी इलामबाट नेपालटार, मङ्गलवारे बजार हुँदै करीब ४१.५ कि.मि. को दूरीमा पुग्न सकिन्छ ।

१२. पाथीभरा
समुद्री सतहबाट १ हजार ८ सय मिटरको उचाइमा अवस्थित पाथीभरा धार्मिक महत्व बोकेको स्थल हो । यो पूर्वी इलामको साविक कोल्बुङ गाविस हाल रोङ गाउँपालिकामा पर्छ । कुटीडाँडा र हाँसपोखरीको चुचुरोमा पर्ने यस ठाउँमा मन्दिर बनाइएको छ । मेची राजमार्गको कुटीडाँडाबाट करीब २० मिनेट सिँढी खुट्किला उक्लेपछि पाथीभरा देवीको मन्दिरमा पुग्न सकिन्छ । यी देवीलाई ताप्लेजुङकी प्रसिद्ध पाथीभरा देवीकी बहिनीका रूपमा पुजिन्छ । कसैकसैले यिनलाई सानी पाथीभरा देवी पनि भन्छन् । विभिन्न अध्ययनले यहाँ प्याराग्लाइडिङको उच्च सम्भावना रहेको देखाएका छन् ।

१३. नारायणस्थान
यो स्थान इलाम बजारमै छ । यहाँ भगवान् शिव, सन्तोषी माता र नारायणको मन्दिर छ । यो मन्दिर शिक्षाको प्रचार प्रसारका दृष्टिले पनि महत्वपूर्ण रहेको छ । यो मन्दिर भवानीदास राजलवटद्धारा विसं १९२२ मा निर्माण गरिएको हो ।

१४. माईस्थान
इलाम बजारको नजिकै प्रसिद्ध भगवतीको मन्दिर रहेको छ । यस स्थानमा नियमित पूजापाठ हुनुका साथै पुराणहरू पनि लगाउने चलन छ । यो स्थानलाई खलङ्गा खाल्डो र मन्दिर अगाडिको ढुङ्गालाई इलङ्गा ढुङ्गा भनिन्छ । मन्दिर नजिकै गणेश, डङ्किनी र सिंहवाहिनीका ससाना मन्दिर पनि रहेका छन् ।

१५. सेतीदेवी
इलाम नगरपालिकाको साविक वडा नम्बर– ९ हाल वडा नं. ६ को यो मन्दिर पुवाखोलाबाट २ सय मिटर माथिको पहरामा छ । पहराभित्र रहेको विशाल ढुङ्गालाई देवीका रूपमा पूजा गर्ने गरिन्छ ।

१६. माबुथाम 
इलामको उत्तरी गाविस माबुमा अवस्थित माबुथाम र आसपासका क्षेत्रहरु पर्यटकीय दृष्टिले निकै रमणीय क्षेत्रका रुपमा रहेकोछ । यस क्षेत्रमा रहेको बौद्ध समुदायको साधना केन्द्र डुख्याङ गुफा, बौद्ध गुम्बा, रमिते ढुङ्गा, माबुथाम, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु पाइने बलुबन, भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग पर्यटकीय आकर्षणका क्षेत्रहरु हुन् । यस स्थानबाट नजिकै रहेको अर्को पर्यटकीय गन्तब्य सन्दकपुर समेत जान सकिन्छ । प्राकृतिक दश्यावलोकन, जैविक विविधता अवलोकन तथा ग्रामीण रहनसहनको अध्ययनका लागि यो क्षेत्र महत्वपुर्ण रहेकोछ । इलाम सदरमुकामबाट बिब्ल्याँटे, सुलुबुङ्ग, माईखोला, सोमबारे बजार हुदै जीपबाट लगभग ३ घण्टाको यात्रामा माबुथाम पुग्न सकिन्छ । पर्यटकहरुका लागि सिमित संख्यामा होटल र होमस्टेहरु सञ्चालित रहेका छन् ।

2.jpg

कसरी पुगिन्छ इलाम ?
पैदल, हवाई र सवारी यातायातको माध्यमबाट इलाम पुग्न सकिन्छ ।  हवाई मार्ग हुँदै जाने हो भने काठमाडौंबाट ४५ मिनेटको चन्द्रगढीसम्मको यात्रा गर्नुपर्छ र चन्द्रगढीबाट चारआली बुधबारे हुँदै जोरकलसको नाकाबाट इलाम प्रवेश गर्नु पर्छ ।  जोरकलसबाट छिर्ने बित्तिकै पुगिने भनेको इलामको कन्याम हो । अधिकांश पर्यटक छिर्नेबाटो भनेको यही हो किनभने पिच गरेको इलाम छिर्नेबाटो यही एउटा मात्रै छ । त्यस्तै नाका खुल्ला भएको बेला भने भारतीय पर्यटकहरु पशुपतिनगरबाट पनि छिर्ने गरेको पाइन्छ ।   

काठमाडौंबाट इलाम  ५९७.५ किमि टाढा छ । जसमा गाडिबाट जानको लागि १५ घण्टा ३० मिनेटको हाराहारी लाग्छ । गाडीको टिकट काठमाडौंको कोटेश्वर र वसपार्कमा पाइन्छ । फागुनन्द सुकिलुम्बा विमानस्थल फागुन १ गते उद्घाटन भएको छ अब चाँडै इलाममा नै हवाईमार्ग सञ्चालनमा आउँदै छ । 

1.jpg

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.