संखुवासभा सामुहिक हत्याकाण्ड : थप ६ जनामाथि अनुसन्धान

संखुवासभा । संखुवासभा मादी गाउँपालिकास्थित खोलागाउँमा एकै घरका ६ जनाको हत्या भएको घटना रहस्यमय बन्दै गएको छ । हत्यामा संलग्न आरोपमा पक्राउ परेका लोकबहादुर कार्की सहित थप ६ जनमाथि अनुसन्धान थालिएको छ ।

आरोपित लोकबहादुर र उनका भाइमाथि प्रहरीले अनुसन्धान गरिरहेका थिए । लोकबहादुरका बुबा,काका, काकी तथा दुई छोरमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
मृतक रञ्जनाको मोबाइल लोकबहादुरको भाइ नरेशसँग भेटिएको थियो । यी दुइको वयानका आधारमा थप ५ जनामाथि अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

घटनाको सातौँ दिन लोकबहादुरलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको थियो । मृतक रञ्जनाको हराएको मोबाइल प्रहरीले फेला पारेपछि अनुसन्धान टोली पुनः घटनास्थलमा केन्द्रित बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले बताए । हत्या आरोपमा पक्राउ परेका लोकबहादुरको घरबाट गत बिहीबार मोबाइल भेटिएको थियो ।

रञ्जनाको मोबाइल घटना भएको बिहानदेखि नै हराएको थियो । मोबाइल स्वीच अफ भएकाले प्रहरीले सम्भावित ठाउँमा खोजी गरिरहेको थियो । घटनाबारे थप प्रमाण फेला परेपछि सङ्घीय एकाइ प्रहरी कार्यालय धरानका एसपी भीम दाहालको नेतृत्वमा प्रदेश नं १ प्रहरी कार्यालयबाट छ जनाको टोली घटनास्थल पुगेर पुनः अनुसन्धान सुरु गरेका छन् ।

घटनामा अन्य व्यक्तिको समेत संलग्नता भएको आशङ्का भएपछि फेरि अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सुरक्षाका लागि इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडासहितको १० जनाको टोली घटनास्थलमै थियो । हत्या आरोपमा गत आइतबार प्रहरीले लोकबहादुरलाई पक्राउ गरेर सार्वजनिक गरिसकेको छ । उनलाई भदौ २८ गते बिहान मादी-१ स्थित तेजबहादुर कार्कीसहित उनकी आमा पार्वता, श्रीमती मनमाया, बुहारी रञ्जना, नाति दीपक र नातिनी गोमा कार्कीको वीभत्स रूपमा सामूहिक हत्या गरेको आरोप छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.