गोरखा । दुई वर्षअघि मनाङमा सात युवाको हत्यामा संलग्न ५ अभियुक्तको कैद मिनाह भएको छ । यार्सागुम्बा संकलनका लागि गोरखाबाट मनाङ पुगेका सात युवाको २०६६ असार २६ मा सामुहिक हत्या भएको थियो ।
संविधान दिवसको अवसरमा उक्त घटनामा संलग्न पाँच अभियुक्त नार्पाभूमि गाउँपालिका नार गाविसका सोनाम लामा, छो सोनाम लामा, कर्मा वाङ्गेल लामा, नङ्गा धावा लामा र ङिमा छवाङ लामाको कैद मिनाह भएको मनाङ जिल्ला कारागार प्रशासनले जनाएको छ ।
तोकिएको सजायको आधा सजाय भोगिसकेका कैदीबन्दीको कैद मिनाहका लागि गरिएको सिफारिसमा उनीहरुको कैद मिनाह भएको जिल्ला कारागार मनाङका जेलर गणेश न्यौपानेको भनाइ छ । अभियुक्त ५ जनालाई सात वर्ष नौ महिना २४ दिनको कैद सुनाएको थियो ।
मनाङमा यार्सागुम्बा संकलन कार्य जिल्लावासीले मात्र गर्ने गर्दथे । २०६६ मा घटेको उक्त घटनादेखि भने अन्य जिल्लाका व्यक्तिलाई पनि यार्सागुम्बा संकलन गर्न पाउने व्यवस्था गरिएको छ ।