नेपाली सेनाको सहजका लागि दार्चुला तुसारपानी क्षेत्रमा सडक मर्मत थालियो

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका(३ तुसारपानीमा वर्षाका कारण अवरुद्ध भएको सडक मर्मत गरिँदै छ । सडक अवरुद्ध हुँदा नेपाली सेनाले निर्माण क्षेत्रमा सामग्री ढुवानी गर्न समस्या भइरहेका बेला दार्चुला तिंकर सडक आयोजनाले तुसारपानी क्षेत्रमा सडक मर्मतको काम सुरु गरेको छ।

आयोजनाले अवरुद्ध सडक खोल्ने काम गरिरहेको महाकाली लोकमार्ग दार्चुला तिंकर सडक आयोजनाका प्रमुख आशुतोष कर्णले बताए । 
‘तुसारपानी क्षेत्रमा अवरुद्ध सडक खुलाउने काम भइरहेको छ । १५-२० दिनमा सेनालाई सडक पास दिन्छौ’, उनले भने । वर्षादमा तुसरपानी तथा गाणारुख क्षेत्रमा सडक क्षतविक्षत बनेको छ । 

सरकारले पछिल्लो समय दार्चुला तिंकर सडक अन्र्तगत तुसारपानी फतङगाड देखि कोठेधार सम्मको चार किलोमिटर थप सडकको जिम्मा नेपाली सेनालाई दिएको छ । 

सरकारले नेपाली सेनालाई सुरुमा ८७ किलोमिटर र हाल थप चार किलोमिटर गरि ९१ किलोमिटर सडक निर्माणको जिम्मा दिएको छ भने ४३ किलोमिटर सडक निर्माण दार्चुला तिंकर सडक आयोजनाले गरिरहेको छ ।  

दार्चुला तिंकर सडकखण्डमा फतङगाडदेखि तिंकरसम्म नेपाली सेनाले काम गर्ने तथा त्योभन्दा तल्लो क्षेत्रमा आयोजनाले काम गर्ने कर्णले जानकारी दिए । 

सडक अन्तर्गत ब्याँस गाउँपालिकाको तुसारपानीदेखि कोठेधारसम्मको ७ किलोमिटर सडकमा ठेक्का तोडिएको थियो । जसमध्ये ठेक्का तोडिएको अमर सूर्य जेभी निर्माण कम्पनीले तीन किलोमिटर क्षेत्रमा ट्रयाक खुलाएको छ भने बाँकी चार किलोमिटर सडक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको हो ।  

सेनाले सुरुमा निर्माणको जिम्मा पाएको कोठेधारसम्म सडकको ट्रयाक नखुलाइएको हुँदा त्यस क्षेत्रमा सडक निर्माणका लागि हेलिकोप्टरमार्फत निर्माण सामाग्री ढुवानी गरेको थियो । 

दार्चुला सदरमुकामदेखि सुन्सेरासम्म ४३ किलोमिटर क्षेत्रमा चारवटा निर्माण कम्पनीहरूसँग सम्झौता भई सडक निर्माणको काम भइरहेको दार्चुला तिंकर सडक आयोजनाले जनाएको छ । महाकाली करिडोर अन्तर्गत कञ्चनपुरदेखि दार्चुलासम्म ३३४ किलोमिटर सडक खण्डमा ट्रयाक खुलाउनका लागि ठेक्का भइसकेको आयोजना प्रमुख कर्णले बताए । 

महाकाली करिडोर अन्तर्गतको दार्चुला तिंकर सडक आयोजनाले चालु आर्थिक वर्षको हालसम्म १७ प्रतिशत भौतिक प्रगति गरेको छ । चालु आर्थिक वर्षको आठ महिनासम्म कार्यालयले १३ करोड ६७ लाख २० हजार पुजीगत बजेट खर्च गरेको लेखापाल भुपालसिह कार्कीले जानकारी दिए । चालु आर्थिक वर्षमा यस सडकखण्डमा कुल ७९ करोड ४२ लाख बजेट रहेकोमा पछिल्लो समय सरकारले १२ करोड बजेट काटेर ६७ करोड ४२ लाख कुल बजेट रहेको कार्कीले बताए ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.