बालुवाटारमा कांग्रेस नेताहरुको बैठकमा प्रचण्ड र अर्थमन्त्री मिसिए, एमसीसी पास गर्ने कि सरकार छोड्ने माओवादीलाई प्रश्न ?

काठमाडौं । एमसीसीले राजनीतिक दल र नेताहरुको दौडधुप बढाएको छ । केही दिनयता नेताहरु एमसीसी, गठबन्धन र संसदको विषयमा भेटवार्तामा व्यस्त छन् । नेपाली कांग्रेस गठबन्धन भित्रका दलहरुको सहमतिमा एमसीसी पास गर्न चाहन्छ । 

सत्तारुढ दलमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने गठबन्धन जोगाउने तर एमसीसी पास नगर्ने मनसायमा छन् । त्यसपछि नेपाली कांग्रेस र सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवा एमालेलाई साथमा लिएर एमसीसी पास गर्ने तयारीमा लागेका छन् ।

एमालेसँग सहकार्य हुने डरले माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल केही हच्किएका छन् । शुक्रवारसम्म प्रचण्ड र नेपाल एमसीसी केही शंसोधनसहित पास गर्न सक्ने भन्दै लचक भएका छन् । तथापी माओवादी पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

यसै विषयमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसँगै कांग्रेस नेताहरु पूर्णबहादुर खड्का, गगन थापा र सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आन्तरिक छलफलमा छन् । 

कांग्रेस नेताहरु छलफल गरिरहेकै अवस्थामा प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मा मिसिएका छन् । मध्यमार्गी बाटो खोज्ने तयारीका साथ कांग्रेस नेताहरुरुसँग माओवादीले छलफल गर्न लागेका हुन् । दिउँसो मात्रै एकीकृत समाजवादीका नेता नेपालले सिंहदरबारमा प्रधानमन्त्रीसँग छलफल गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.