काठमाडौं । धरानमा तिहारपछि मात्रै भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने भएको छ । धरान उपमहानगरपालिकाले तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय खोल्ने निर्णय गरेको हो ।
हाल स्थानीय तहमा कोरोना संक्रमणको जोखिम कायमै रहेको र बालबालिकालाई विद्यालय पठाउन अभिभावक तयार नभएकोले वैकल्पिक सिकाइलाई नै जोड दिने नगरपालिकाले जनाएको छ । तसर्थ तिहारपछि मात्रै विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख रत्नबहादुर कटुवालले जानकारी दिए।
उनले भने, ‘संक्रमणको जोखिम अझै कम भइसकेको छैन । जोखिमका कारण अभिभावकहरु पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउन तयार छैनन् । बीचमा संक्रमण कम भएको अवस्थामा दशैंपछिको बैठकले पुर्नविचार गर्न सक्नेछ ।’
कटुवालका अनुसार उपमहानगरपालिकामा सामुदायीक विद्यालय ४५, विशेष विद्यालय ४, धार्मिक ६ र संस्थागत ९६ वटा विद्यालय सञ्चालित रहेका छन् ।