ईपीएल खेल्न २४ विदेशी खेलाडी आउँदै

काठमाडौं । हालै ओमानमा नेपाली राष्ट्रिय क्रिकेट टिमले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेलेको हेरेका क्रिकेट प्रेमीको प्रतीक्षामा रहेको अर्को प्रतियोगिता हो एभरेष्ट प्रिमियर लिग (ईपीएल)।

नेपाली खेलाडीसंगै विदेशी स्टार खेलाडीहरुको जमघट हुने ईपीएलको चौथो संस्करण यही असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ । सन् २०२० को मार्च अर्थात २०७६ साल चैतमै चौथो संस्करण आयोजना गर्ने भनिएपनि कोरोना महामारीले गर्दा इपीएल स्थगित भएका थिए ।

सहभागी फ्रेन्चाइजहरुले प्रतियोगिताको आन्तरिक तयारी गरिसकेका छन् । ईपीएलमा आकर्षणको केन्द्रविन्दुको रुपमा रहेका विदेशी खेलाडीको अनुबन्ध प्रक्रिया समेत लगभग सबै टिमले गरिरहेका छन् ।

आयोजकका अनुसार ईपीएलका ६ वटै फ्रेन्चाइज क्लबले ३ विदेशी खेलाडी अनिवार्य टिममा राख्नुपर्नेछ । ईपीएलमा खेल्न आउने विदेशी खेलाडीको नामले धेरै नै चर्चा पाएको छ । यस पटक पाकिस्तानका पूर्वकप्तान शाहिद अफ्रिदी देखि बंगलादेशका सफल ब्याट्सम्यान तमिल इक्वालसम्म ईपीएल खेल्न आउँदैछन् ।

फ्रेन्चाइजहरुले अष्ट्रेलियादेखि इंग्ल्याण्डसम्मका टी–२० का चर्चित खेलाडीहरु ल्याउने प्रयास गरेपनि आइतबारदेखि युएईमा सुरु भएको आईपीएल २०२१ को दोस्रो लेग र आउँदै गरेको आईसीसी टी–२० विश्वकपका कारण सम्भव हुन सकेन ।

त्यसैले टी–२० विश्वकप खेल्ने टिममा नपरेका धेरै खेलाडी नेपाल आउँदैछन् । अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा टी–२० विश्वकप आयोजना हुँदैछ । तर विश्वकप खेल्ने टिममा परेका अफगानिस्तानका तीन खेलाडी भने ईपीएलमा अनुबन्ध भएका छन् र नेपाल आउँदैछन् ।

जसमा मोहम्मद साहाजाद र करिम जन्नत चितवन टाइगर्सबाट खेल्ने छन् भने रहमानुलल्ह गुर्बाज काठमाडौं किंग्स ११ मा अनुबन्ध भएका छन् । यसैगरी यस पटक मलेसिया, सिंगापुर र भुटानका खेलाडी समेत ईपीएल खेल्न आउँदैछन् ।

अहिलेसम्म ६ टिमले गरी कूल २४ विदेशी खेलाडी अनुबन्धित छन् । ईपीएलमा प्रतिस्पर्धा गर्ने ६ वटै फ्रेन्चाइज सकेसम्म स्टार विदेशी खेलाडी राख्ने होडमा छन् ।

समय जुधेकाले धेरै उत्कृष्ट खेलाडी आईपीएल खेल्न गएका छन् । तैपनि टेष्ट मान्यता प्राप्त राष्ट्र श्रीलंकाबाट मात्रै ८ खेलाडी आईपीएल खेल्न आउँदैछन् । जसमा राष्ट्रिय टिमका पूर्व ओपनर उपुल थरंगादेखि अहिलेका स्टार असेला गुनारत्ने सम्म छन् ।

चितवनले अहिलेसम्म ५ विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । जसमा साहाजाद र करिम जन्नतसंगै श्रीलंकाका सेकुगे प्रसन्ना, पाकिस्तानका डानिस अजिज र मलेसियाका भिरनदीप सिंह छन् ।

यस्तै साविक विजेता तथा राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानी रहेको ललितपुर प्याट्रिओट्सले श्रीलंकाका ओसादा फर्नान्डो र सन्दुन विराकोडी, अफगानिस्तानका ओमारजाई र भुटानमा मिक्योङ दोर्जीलाई अनुबन्ध गरेको छ ।

साविक उपविजेता भैरहवा ग्लाडिएटर्सले श्रीलंकन उपुल थरंगा र धम्मिका प्रसादसंगै बंगलादेशका तमिम इक्वाल र मलेसियाका सर्भिन मुनिएन्डीलाई अनुबन्ध गरेको छ ।

पोखराले टेष्ट राष्ट्र वेष्ट इन्डिजबाट केसरिक विलियम्स र दक्षिण अफ्रिकाका रिचर्ड लेभीलाई अनुबन्ध गरेको छ । यसैगरी श्रीलंकन असेला गुनारत्ने र साहान अरासिगेलाई पनि पोखराले अनुबन्ध गरेको छ ।

यसैगगरी एक पटकको विजेता विराटनगर वारियर्सले जिम्बाव्वेका अलराउण्डर सिकन्दरराजा, वेष्ट इन्डिजमा हेमराज चन्द्रपउल, क्यानडाका रेयानखान पठान र श्रीलंकाका दिल्सान मुनाविरालाई अनुबन्ध गरेका छन् ।

काठमाडौंलै शाहीद अफ्रिदी र गुर्बाजसंगै सिंगापुरका जनक प्रकाशलाई पनि अनुबन्ध गरेको छ ।

अहिलेसम्म भैरहवाले अनुबन्ध गरेका श्रीलंकाका दिनेश चन्डिमाल र ललितपुरले अनुबन्ध गरेको इंग्ल्याण्डका एलेक्स ब्लेक भने नआउने भएका छन् ।

आयोजक ईपीएल प्रालिका म्यानेजिङ डिरेक्टर आमिर अख्तरले विदेशी स्टार खेलाडीको आगमनले ईपीएलको दायरा अझै ठूलो हुने र नेपालको पर्यटनमा समेत यसले सहयोग पुग्ने बताउँदै आएका छन् ।

विश्वका विभिन्न लिगमा खेलिसकेका, टी–२० विश्वकप खेलेका देखि पहिलो पटक विदेशी फ्रेन्चाइज लिगमा छनोट भएकाहरुसम्म यस पटक ईपीएल खेल्न नेपाल आउँदैछन् ।

अहिलेसम्म घोषणा भएका विदेशी खेलाडी

ललितपुर प्याट्रिओट्स

ओशादा पर्नान्डोःश्रीलंका

अजमतुल्लाह ओमारजाईःअफगानिस्तान

सन्दुन विराकोडीः श्रीलंका

मिक्यो दोर्जीः भुटान

भैरहवा ग्लाडिएटर्स

उपुल थरंगाः श्रीलंका

धम्मिका प्रसादः श्रीलंका

तमिम इक्वालः बंगलादेश

सर्विन मुनिएन्डीः मलेसिया

पोखरा राइनोज

रिचर्ड लेभीः दक्षिण अफ्रिका

केसरिक विलियम्सःवेष्ट इन्डिज

असेला गुनारत्नेः श्रीलंका

साहान अराससिगेः श्रीलंका

काठमाडौं किंग्स ११

शाहिद अफ्रिदीः पाकिस्तान

जनक प्रकाशः सिंगापुर

रहमानुल्लाह गुर्बाज ः अफगानिस्तान

चितवन टाइगर्स

मोहम्मद साहाजादः अफगानिस्तान

करिम जन्नतः अफगानिस्तान

डानिस अजिजतः पाकिस्तान

सेकुगे प्रसन्नः श्रीलंका

भिरनदिप सिंहः मलेसिया

विराटनगर वारियर्स

सिकन्दर राजाः जिम्बाव्वे

रेयानखान पठानः क्यानडा

चन्द्रपउल हेमराजः वेष्ट इन्डिज

दिल्सान मुनाविराः श्रीलंका

कुन देशका कति खेलाडी ?

श्रीलंकाः ८

अफगानिस्तानः ४

वेष्ट इन्डिजः २

पाकिस्तानः २

मलेसियाः २

दक्षिण अफ्रिकाः १

बंगलादेशः १

जिम्बाव्वेः १

सिंगापुरः १

क्यानडाः १

भुटानः १

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.