काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको केन्द्रिय कमिटी बैठक आज बस्दै छ । तत्कालिन नेकपा एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीको पहिलो पटक केन्द्रीय कमिटी बैठक आज बस्न लागेको हो ।
बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा दिउँसो २ बजे शुरू हुने बैठकमा देशभर सङ्गठन विस्तारका लागि आवश्यक रणनीतिमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
त्यस्तै,आजको बैठकमा सरकारलाई सफल बनाउन पार्टीले खेल्नुपर्ने भूमिका, सरकारमा सहभागिताको विषय, राजनीतिक सङ्गठन प्रबद्र्धनका लागि राष्ट्रियस्तरमा के कसरी अभियान सञ्चालन गर्ने भन्ने विषयमासमेत छलफ हुने एक नेताले बताए ।
उक्त बैठकले केही नेताको विभाग हेरफेर गर्ने केही नेतालाई नयाँ जिम्मेवारी तोक्न सक्नेछ । बैठकमा ११३ केन्द्रीय सदस्यको सहभागिता हुनेछ । पार्टीले अहिलेसम्म देशका ५५ जिल्लामा कार्यसमिति विस्तार गरिसकेको छ ।