एमाले महासचिवको विधान महाधिवेशन प्रस्तावमा माओवादी समेटिए

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीमा गुटबन्दी समस्या अन्त्य नहुने बताएका छन् । संगठनात्मक प्रस्तावमा विधान महाधिवेशनमा पेसका लागि तयार पारिएको प्रस्तावमा पोखरेलले सो कुरा उल्लेख गरेका हुन् । 

‘माधवकुमार नेपालको नेतृत्वमा पार्टीबाट एउटा समूह बाहिरिए पनि संगठनात्मक अराजकता र गुटबन्दीको समस्या स्वतः अन्त्य हुँदैन,’ महासचिव पोखरेलले भनेका छन् । 

विगतमा नेकपा एमालेभित्र उत्पन्न अन्तर्विरोधलाई त्यहाँभित्र स्थापित प्रणालीले एक हदसम्म बाँधेर राखेको उनको भनाइ छ ।

साथै, पोखरेलद्वारा तयार पारिएको प्रस्तावमा माओवादीलाई पनि समेटिएको छ ।  २०७४ को निर्वाचनमा नेकपा माओवादीसँग चुनावी वाममोर्चा गर्दै दुवै पार्टी नेकपामा रुपान्तरित भई तीन वर्षभन्दा बढी समय व्यतित गरी अलगअलग पार्टीको पनि महासचिवले आफ्नो प्रतिवेदनमा माओवादीदालई समेटेका हुन् ।

यद्यपि महासिचव पोखरेलले किन आफ्नो प्रतिवेदनमा माओवादीको संगठनात्मक प्रक्रियालाई समेटे भनी खुल्न सकेको छैन । ‘माओवादीभित्र व्यक्ति केन्द्रित संगठनात्मक अभ्यास खुला राजनीतिमा आएपछि संगठनात्मक अराजकताको रुपमा संस्थागत भएको र दुई पार्टीको एकतापछि नेकपाभित्र प्रवेश गरेको हो,’ पोखरेलद्वारा तयार पारेको प्रस्तावमा भनिएको छ, ‘विगतमा हाम्रो पार्टीले अघि बढाएको लोकतान्त्रिक अभ्यासले उन्नतस्तरको लोकतान्त्रिक संस्कृतिको माग गर्दछ तर, हाम्रो समाज र राजनीतिमा त्यो संस्कृति विकास हुन सकेको छैन । गर्न सकिएको छैन । यसले पनि संगठनात्मक अराजकतालाई मलजल गरेको छ ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.