जग्गा रोक्का राखिएको विषयमा नगरपालिकासँग राय प्रतिक्रिया माग 

खोटाङ । जिल्ला प्रशासन कार्यालय खोटाङले हलेसीमा गुरुयोजना लागू गर्नेक्रममा मुआव्जा तथा क्षतिपूर्ति उपलव्ध नगराइ जग्गा रोक्का राखिएको विषयमा हलेसी तुवाचुङ नगरपालिकासँग राय प्रतिक्रिया माग गरेको छ ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीको गुरुयोजना लागू गर्नेक्रममा घर, टहरा र जग्गा धनीले कुनै पनि प्रकारको मुआव्जा क्षतिपूर्ति उपलव्ध नगराइ जग्गा रोक्का राखिएको विषयमा प्रशासनले नगरपालिकासँग राय प्रतिक्रिया माग गरेको हो । 

 हलेसी गुरुयोजना लागू गर्नेक्रममा हलेसी मन्दीर (गुफा)लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने निर्णयसँगै दुई वर्षदेखि रोक्का राखिएको जग्गा फुकुवाको माग गर्दै गत ४ फागुनमा स्थानीयले निवेदन दिएपछि प्रशासनले नगरपालिकाको राय प्रतिक्रिया मागेको जनाएको छ ।

 जिल्ला प्रशासन कार्यालय र जिल्ला मालपोत कार्यालयलाई दिइएको निवेदनमा व्यक्तिगत जग्गा वर्षौंसम्म किनबेच गर्न, बैंकमा धितो राख्न र घर निर्माण गर्न नमिल्नेगरी रोक्का राखिनुले व्यक्तिको भौतिक सम्पत्ती भोगचलन गर्न पाउने संवैधानिक हक हनन् भएको उल्लेख छ । 

 ११ र १२ माघ २०७६ मा बसेको हलेसी गुरुयोजना निर्माण समितिको बैठकले हलेसी मन्दीर लाई केन्द्र मानेर दुई सय मिटर बृत्ताकार क्षेत्रको जग्गा अधिग्रहण गर्ने, त्यस क्षेत्रभित्रको घर टहरालाई सम्मानजनक मुआव्जारक्षतिपूर्ती उपलव्ध गराएर खाली पार्ने, हलेसीको २६ रोपनी जग्गाभित्र जुनसुकै साना तथा ठूला संरचना निर्माणमा रोक लगाउने, अत्यान्त स्वभाविक र गुरुयोजनाले तोकेको संरचना मात्र निर्माण गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको आधारमा नगरपालिकाले १२ माघ २०७६ मा जग्गा रोक्काका लागि मालपोतलाई पत्राचार गरेको थियो । कुनै पनि प्रकारको मुआव्जा तथा क्षतीपुर्ती उपलव्ध नगराई घर, टहरा र जग्गा रोक्का राखिँदा लाखौंमा जग्गा किनेर बसेका स्थानीय बढी मारमा परेको स्थानीयको भनाई छ । 

    हलेसी तथा हलेसी आसपासका पर्यटकीय क्षेत्रको बृहत्तर बिकासका लागि प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई संयोजकत्वको हलेसी गुरुयोजना निर्माण समितिले गुरुयोजनालाई २०७६ माघमा अन्तिम रुप दिएको थियो ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.