काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सूचना तथा सञ्चार मन्त्री गोकुलप्रसाद बाँस्कोटाले माधव नेपालले एमालेको रगत र पसिनाको अवमूल्यन गरेको बताएका छन् ।
मंगलबार पोखरामा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा बाँस्कोटाले नेपालाई कांग्रेस र माओवादीले भोट हालेर नेता नबनाएको बताउँदै सो बताएका हुन् ।
‘माधव नेपालको पार्टीको हैसियत आउँदो चुनावमै देखिन्छ,’ उनले भने, ‘अहिले उहाँको पछि लागेका चुनावसम्म एमालेमा आइसक्छन् ।’ साथै, उनले माधव नेपालहरुले जबजसमेत पोलेर खाएको बताउँदै टिक्न नसक्ने बताए ।
सो क्रममा उनले आगामी चुनावसम्म माधव नेपाल र प्रचण्डलाई कांग्रेसले उपयोग गर्ने बताए । ‘काँग्रेसले चुनावको अगाडिसम्म यिनीहरूलाई स्वीकार गर्छ,’ उनले दाबी गरे, ‘चुनावका बेला सबैलाई लात हानेर काँग्रेस एक्लै लड्छ । काँग्रेसले उनीहरूसँग तालमेल गर्दा आफ्नै नेता कार्यकर्तालाई भागबण्डा पुग्दैन ।’
तर, रामकुमारी झाँक्रीले आफूहरुको गठबन्धन आगामी चुनावपश्चातसम्म पनि जारी रहने बताउँछिन् ।