दिलमाया शाही
जुम्ला । जुम्लाका जनप्रतिनिधि बालविवाह न्यूनीकरणमा उदासिन छन् । कानुनत: २० वर्ष नपुगी बिवाह गर्न पाइँदैन । तर, जुम्लामा किशाेरावस्थामै पनि बिवाह हुने गरेकाे छ ।
जनस्वस्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/ ७८ मा आठ सय ६० किशोरीले गर्भजाँच गराएका छन्। गत वर्षमा एक सय ८० ले निकै कमतौलका बच्चा जन्माएका थिए ।
जिल्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ किशाेरीले गर्भ जाँच गराएकाे देखिन्छ।
स्थानीय सरकारले बालविवाह अन्त्यका लागि तदारुकता देखाउन जरुरी रहेकाे अधिवक्ता अनिता तिमिल्सेनाले बताइन् । 'बालविवाह कानुनी रुपमा गैरकानुनी हाे भनेर अभिभावकलाई पनि सचेत गराउनु पर्छ, याे भूमिका स्थानीय तहले निभाउन सक्छन्,' उनले भनिन्।
बालविवाहविरुद्ध सडक नाटकदेखि घरदैलो कार्यक्रम हुने गरे पनि प्रभावकारी हुन नसकेकाे सराेकारवालाले बताएका छन् । आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले पनि प्लान नेपालको आर्थिक सहयोगमा जुम्लाको सिक्षा क्षेत्रका तीन पालिकामा बालविवाह न्यूनीकरण निम्ति कार्यक्रम गरिरहेको छ।
क्याड परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले सरकारले बालविवाह न्यूनीकरण निम्ति कडा कानुन बनाए पनि व्यवहारमा लागू हुन नसकेकाे बताइन् ।