काठमाडौं । पछिल्लो समय सत्तारुढ गठबन्धन भित्र चुनावी तालमेलको प्रयास जारी छ । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धननै चुनावी तालमेलमा जानुपर्ने धारणा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राख्दै आएका छन् ।
नेपाली कांग्रेसका सभापति एंव प्रधानमन्त्री शेरबहादुर देउवाले पनि गठबन्धन निर्वाचन सम्मै रहने बताउँदै आएका छन् । तथापी कांग्रेस भित्र एक्लै चुनावमा जानुपर्ने बलियो मत रहेको छ । कांग्रेसले भोली शनिवारदेखि केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठकले अरु पार्टीसँग चुनावी एकता गर्ने या नगर्ने निर्णय गर्नेछ ।
यता माओवादी केन्द्र र एकीकृत समाजवादीले चुनावी एकता नगरे गठबन्धनको औचित्य नरहने बताउँदै आएको छ । सोही सन्दर्भमा कांग्रेसले चुनावी एकता गर्न तयार नभए सरकार छोड्न सक्नेदेखि अन्य दलसँग एकता गर्नेसम्मको धम्की कांग्रेसलाई दिँदै आएको छ ।
एकीकृत समाजवादीका अध्यक्ष नेपालले कांग्रेसले चुनावी एकता गर्न नमाने माओवादी केन्द्र र जसपासँग चुनावी तालमेल गर्ने प्रस्तावलाई अघि सारेका छन् । पार्टी अध्यक्ष नेपालले नै सो प्रस्ताव अघि सारेपछि एकीकृत समाजवादीका नेताहरुले औपचारिक कार्यक्रमहरुबाटै च्नावी एकताका लागि कांग्रेस तयार नभए माओवादी केन्द्र र जसपासँग मात्रै भएपनि चुनावी तालमेल गर्ने बताउन थालेका छन् ।
सोही सन्दर्भमा नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले जनता समाजवादी पार्टी र माओवादी केन्द्रसँग चुनावी गठबन्धन हुने बताएका छन् ।
जनकपुरधामस्थित नेकपा एसको जिल्ला पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता खतिवडाले कांग्रेसका केही नेता गठबन्धनको विपक्षमा रहे पनि सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनको पक्षमा रहेको बताएका हुन् ।
तीनै चरणमा तालमेल विना नर्विाचनमा जान संभावना कम भएपछि समाजवादी पार्टीले अन्य पार्टीसँग तालमेल गरेर निर्वाचनमा जाने तयारी गरेको हो । सोही सदर्भमा कांग्रेसलाई दबाब दिन अन्य दलसँग सहकार्य हुने बताउन थालेको हो ।