काठमाडौं । लिभरपुल इङ्गलिस काराबाओ कपको चौथो चरणमा प्रवेश गरेको छ । मङ्गलबार राति भएको खेलमा नर्विच सिटीमाथि ३–० गोलको सहज जित दर्ता गर्दै लिभरपुल अघिल्लो चरणमा प्रवेश गरेका थिए ।
नर्विचको मैदानमा लिभरपुललाई जिताउन ताकुमी मिनामिनोले दुई तथा डाइभक ओरिजीले एक गोल गरेका थिए । खेलको चौथो मिनेटमा मिनामिनोले गोल गर्दै लिभरपुललाई सुरुआती अग्रता दिलाएका थिए ।
४२औँ मिनेटमा नर्विचले पेनाल्टी पाएको थियो । तर क्रिस्टोस जोलिस पेनाल्टीमा चुक्दा उसले बराबरी गोल गर्ने मौका खेर फालेको थियो । ५०औँ मिनेटमा ओरिजीले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । ८०औँ मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० गोलले जिताएका थिए ।