चिनियाँ विदेशमन्त्रीको राजनीतिक भेटघाट : कुन कुन विषयमा भयाे कुराकानी ?

काठमाडाैं ।  नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटवार्ता गरेका छन् । गत शुक्रबार नेपाल आएका चिनियाँ विदेशमन्त्री आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली, माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

विदेशमन्त्री वाङ यी आइतबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर मेरियट होटल आएका थिए ।

भेटवार्तामा राष्ट्रपति विद्यादेवी भण्डारीले उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने बताएकी थिइन् । उनले कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति उनले विदेशमन्त्री वाङलाई धन्यवाद दिएकी थिइन् । नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उनले बताएकी थिइन् । 

एमाले अध्यक्ष केपी ओलीले भेटमा पछिल्लो समयमा खासगरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर अघि बढाउन आफूहरुले सहमति गरेका आयोजनालाई निरन्तरता दिन र तिनीहरुलाई छिटोभन्दा छिटो सम्पन्न गनुपर्ने धारणा राखेका थिए । नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाई, जलविद्युत उत्पादन, नाकाहरु निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरु छिटो अघि बढाउनु पर्ने धारणा अध्यक्ष ओलीले राखेका थिए । जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता जनाएका थिए ।

वाङ यी सँगको भेटवार्तामा प्रचण्डले दुई देशबीचको मैत्री सम्बन्धका बारेमा चर्चा गर्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने प्रतिबद्धता जनाएका थिए । उनले नेपालको आर्थिक र सामाजिक विकासका ती आयोजना महत्वपूर्ण मानिएको बताए । उनले आयोजना अगाडि बढ्दा सकारात्मक प्रभाव पर्ने भएकाले पहल गरिदिन चीनसँग आग्रह गरेका थिए ।

वाङ यीले शनिबार परराष्ट्रमन्त्री डा नारायण खड्का र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.