भेटी बढेपछि व्यवस्थापनमा किचलो

 

नेपालगञ्ज – केही महिनादेखि चर्चामा आएको नरैनापुरको सन्तानेश्वर मन्दिर व्यवस्थापन समिति गठनमा लफडा भएको छ ।वर्षौंदेखि पूजाआजा भइरहेको भए पनि पछिल्लो चार महिनादेखि चर्चामा रहेको सन्तानेश्वर मन्दिरमा गाउँपालिका र मूल महन्तका बीचमा समन्वय नहुँदा दुई वटा व्यवस्थापन समिति गठन गरिएको छ।

हप्तामा ४० हजारसम्म भेटी उठेपछि व्यवस्थापन समितिमा किचलो भएको हो। गाउँपालिकाले बृजेन्द्र यादवको नेतृत्वमा र मूल महन्तले नितिश मौर्यको संयोजकत्वमा समिति गठन गरेका छन्। दुवै समितिको विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगेको छ। जिल्ला प्रशासन कार्यालयले कुनैलाई पनि आधिकारिता दिइसकेको छैन।मूल महन्त योगानन्द गिरीले आफूहरुलाई पुरै बाइपास गरेर पालिकाले समिति गठन गरेको बताए। ‘सबैलाई समेटेर जानुपथ्र्यो, एकतर्फी समिति गठन गरियो। त्यसपछि हामीले पनि अर्को समिति बनाएका छौं’, मूल महन्त योगीले भने, ‘मन्दिरको व्यवस्थापन गर्ने हो । भक्तजनलाई सुविधा दिने हो। मिलेर अघि बढ्नुपर्छ।’

सन्तानेश्वर मन्दिर रहेको ठाउँमा वि।सं। १९३५ मा झण्डा गाडिएको थियो। २०७० सालमा मन्दिर बन्यो। मन्दिर बनेपछि शिवरात्री, साउने सोमबारहरुमा भक्तजन पुग्ने गरेका थिए। केही महिनादेखि दैनिकजसो नै भक्तजन पुग्ने गरेका छन्।
मन्दिर परिसरमा दिव्यदर्शी आश्रम रहेको छ। मूल महन्त गिरीलगायत त्यही बस्छन्। त्यहाँ पानीको ठूलो समस्या रहेको छ। पानीको समस्या समाधान गर्नतिर भन्दा आफूखुसी समिति बनाएर पैसा बटुल्नेतिर लागेको आश्रमसम्बद्धको भनाइ छ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.