दाङ । दाङको इलाका प्रशासन कार्यालय तुलसीपुरले सेवा ग्राही रहँदासम्म कार्यालय समय तोकेको छ । कार्यालयमा राष्ट्रिय परिचयपत्र र ई–पासपोर्ट बनाउन आउने सेवाग्राहीको अत्यधिक भीड हुन थालेपछि सेवाका लागि आएका सबैले सेवा नलिँदासम्म कार्यालय खुलै रहने गरी समय निर्धारण गरिएको छ ।
इलाका प्रशासन कार्यालय तुलसीपुरका प्रमुख यज्ञबहादुर बुढाले सेवा ग्राहीले सेवा नलिँदासम्ममा राति बसेर पनि सेवा दिनेगरि व्यवस्थापन गरिएको बताए । कार्यालयमा जनशक्ति कम तर कामको चाप बढ्दा कार्यालय समयमा सबै सेवाग्राहीलाई सेवा दिन समस्या भएपछि केहिदिनलाई सेवा समय बढाएको कार्यालयका प्रमुख बुढाले जानकारी दिए ।
सेवाग्राही बिहानैदेखि रातभरसम्म कार्यालय गेटमा पालो कुरेर बस्न थालेपछि उनीहरूको सहजताका लागि सरकारले तोकेको समयभन्दा केही घण्टा थप सेवा प्रदान गरिने उनी बताउँछन् ।
सरकारले पौष महिनादेखि एमआरपी बन्द गरेर ई–पासर्पोट ल्याएपछि यसरी भीड बढ्न थालेको उनले बताए । ई–पासर्पोटका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएकाले काम धेरै जनशक्ति थोरै हुँदा काम गर्न समस्या भइरहेको उनी बताउँछन् ।
ई–पासर्पोट बनाउनेमा सबैभन्दा धेरै वैदेशिक रोजगारीमा जाने, अध्ययनका लागि जाने र परिवार भेट्न जाने व्यक्ति रहेको उनले जानकारी दिए । दैनिक एक सय जनालाई सेवा दिँदै आएको कार्यालयले अहिले दैनिक दुई सय जनालाई सेवा दिइरहेको छ ।