काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले चीन र भारतसँग सन्तुलित सम्बन्ध राख्ने बताएका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभारका क्रममा बुधबार दुवै छिमेकी देश चीन र भारतबीच समधुर र घनिष्ठ सम्बन्ध राख्ने बताउँदै यस्तो बताएका हुन् ।
‘परराष्ट्र मन्त्रालयले अत्यन्तै महत्वपूर्ण जिम्मेवारीका साथ अघि बढ्नुपर्ने समय आएको छ । अन्तर्राष्ट्रिय परिवेश जसरी अघि बढिरहेको छ, त्यसले हाम्रो देशलाई पार्न सक्ने प्रभाव र सम्बन्धहरुमा सन्तुलन कायम राख्दै हामीले जिम्मेवारी निभाउनुपर्नेछ,’ मन्त्री खड्काले भने, ‘यो राष्ट्रिय हितको विषय भएकाले सबै दलको सहमति समेतलाई ध्यान दिएर, सबै नेताहरुसँग परामर्श र सहमति गरेर हाम्रा अहिलेका जल्दाबल्दा विषयहरु र भावी दिनमा आउन सक्ने विषयहरुलाई सम्बोधन गर्ने गरी काम गर्छु ।’
सो क्रममा नवनियुक्त मन्त्री खड्काले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता जनाए । सो क्रममा उनले भने, ‘एमसीसी र बिआरआईलगायत विषयमा अध्ययन गरेर तथ्यगत र मिथ्यागत विषयलाई ध्यानमा राखेर नेपालको हित हुनेगरी सबै राष्ट्रसँग घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्ने गरी अघि बढ्ने बताए ।
नेपालमा चीनद्वारा सञ्चालित बिआरआई र अमेरिकाको एमसिसी परियोजनालाई लिएर बहस हुँदै आएको छ ।