मैले प्रधानमन्त्रीको निर्देशन मानेको थिएँ, म कार्वाही भोग्ने, माधव नेपाल छुट्टै पार्टी खोल्ने : गच्छादार

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादारले आज पत्रकार सम्मेलन गर्दै बालुवाटार ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा आफु निदोर्ष रहेको दावी गरेका छन् । उनले आफुले नेपाल सरकारको विभागीय मन्त्रीकौ हैसियतले प्रधानमन्त्रीको निर्देशनको पालना मात्रै गरेको दावी गरेका हुन् ।

तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको निर्देशनअनुसार विभिन्न तहबाट आएको प्रस्तावलाई मन्त्रिपरिषद्‍मा लैजानेसम्मको काम मैले गरेको हुँ । प्रधानमन्त्रीले त्यो प्रस्तावलाई ल्याउनुस् भनेपछि मैले लाने काम गरेँ । यसो गर्दा म दोषी भएँ । म कार्वाही भोग्ने अनि मलाई निर्देशन दिने माधव कुमार नेपाल अर्कै पार्टी खोलेर देशमा समाजवाद ल्याउने गफ छाडिरहेका छन्, गच्छादारले क्विक नेपालसँग भने ।

मन्त्रिपरिषद्ले गरेको सामूहिक निर्णयमा राजनीतिक पूर्वाग्रहले मलाई मात्र फसाउन खोजिएको हो । यसमा माधव कुमार नेपालकै हात पनि हुनसक्छ । अन्यथा उहाँले आजसम्म यस विषयमा तपाई निर्दोष हुनुहुन्छ भनेर कहिले भन्नुभएको छैन, गच्छादारले थपे ।

ललिता निवास विस्तार गर्ने योजना म भौतिकमन्त्री हुनुपहिले नै सुरू भएको हो । तत्कालीन प्रम माधवकुमार नेपालको निर्देशन तहगत रूपमा मकहाँ आएपछि कार्यान्वयन गरेको हुँ । यसलाई राजनीतिसँग जोडेर मलाई फसाउन खोजिएको छ, गच्छादारले भने ।

 

© 2021 Quicknepal.com  |  All Rights Reserved.