नेपाली काँग्रेस नुवाकोटमा पहिरो, पुर्व जिल्ला उपसभापतिसहित सिंगो गाउँ एमालेमा प्रवेश

नुवाकोट । निर्वाचन आयोगले  देशभरका स्थानीय सरकारको निर्वाचन बैशाख ३० गते देशभर एकैपटक गर्ने घोषणा गरे सँगै एमाले विरुद्ध पाँच दलिय गठबन्धन लागेको छ । जसमा नेपाली काँग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादी, जसपा र जनमोर्चा निर्वाचनमा मिलेर जाने तयारी गरेको छ । अधिकांश पालिकामा तालमेलको निर्णय समेत गरेको गठबन्धनबाट धमाधम कार्यकर्ताहरु भने एमाले प्रवेशको लहर चलेको छ । 

 देशभर निर्वाचित जन प्रतिनिधि तथा अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने शृङ्खलाको निरन्तरता स्वरुप नुवाकोटमा पनि ठुलै संख्यामा प्रवेशको श्रृङखला अगाडि बढेको छ। बेलकोटगढि नगरपालिका वडा नं. ४ मा राप्रपाका प्रभावशाली नेता जंग बहादुर तमाङ्ग तथा नेपाली काँग्रेसका स्थानिय प्रभावशाली नेता ठुलोकान्छा तमाङ्ग र विर बहादुर तमाङ्गको नेतृत्वमा नेपाली काँग्रेस, माओवादी केन्द्र तथा राप्रपा छोडि झण्डै २०० हाराहारी स्थानीय नेता तथा कार्यकर्ता एमाले प्रवेश गरे सँगै नुवाकोटमा विभिन्न पार्टी परित्याग गरि एमाले प्रवेश गर्नेहरु बढेका छन्। 

यसै क्रममा काँग्रेस नुवाकोटका पुर्व उपसभापति तथा तत्कालीन भद्रुटार गाबिसका निर्वाचित अध्यक्ष यम बहादुर थापा र नेपाली काङ्ग्रेस पंचकन्याका नेता तथा काङ्ग्रेस क्षेत्रीय प्रतिनिधि पंचकन्या १ निवासी  भगवान पौडेल आज बिहान मात्रै नेकपा एमालेमा प्रवेश गरेका छन्। उहाँहरुलाई नेकपा एमाले नुवाकोट जिल्ला कमिटी अध्यक्ष तथा बाग्मति प्रदेश सभा सदस्य तथा पुर्व मन्त्री बद्रि मैनालीले टिका तथा खादा लगाएर पार्टीमा स्वागत गरेका छन्। 
 
प्रवेश पश्चात नेता थापाले अब छिट्टै एक विशेष कार्यक्रम बिच हजारौं काँग्रेसी कार्यकर्ता एमालेमा समाहित हुने बताएका छन् । १० बर्षे जनयुद्दको नाममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्तालाई छानिछानि हत्या गर्ने माओवादी सँग वर्तमान नेपाली काँग्रेसको नेतृत्व लम्पसार परेको प्रति नुवाकोटका हजारौं काँग्रेसी कार्यकर्ता असन्तुष्ट रहेका र तिनको छहारी  अब नेकपा एमालेनै भएको दावी गर्दै नेता थापाले सम्पुर्ण काँग्रेसी साथीहरूलाई एमालेमा समाहित हुन समेत आग्रह गरेका छन्। 

बेलकोटगढि नगरपालिका वडा नं १३ का काँग्रेसका प्रभावशाली नेता तथा तत्कालीन मदानपुर गाविसका नेपाली  काँग्रेसका उपसभापति बम बहादुर तमाङको नेतृत्वमा सिंगो गाउँ नेकपा एमालेमा समाहित भएको छ। नवप्रवेशी काँग्रेस तथा माओवादी केन्द्रका नेताहरुलाई नेकपा एमाले बाग्मति प्रदेश कमिटि अध्यक्ष तथा पुर्व मन्त्री केशव राज पाण्डे, बेलकोटगढि नगरपालिका प्रमुख राजेन्द्र रमण खनाल, नेकपा एमाले जिल्ला कमिटी सचिव सुदर्शन नेपाललगायतले टिका तथा खादा लगाएर एमालेमा स्वागत गरेका थिए। 

© 2021 Quicknepal.com  |  All Rights Reserved.