सप्तरी । नोबेल शिक्षण अस्पताल बिराटनगरमा कार्यरत सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका वडा नम्बर १ का डाक्टर बिजय कुमार यादवको हत्यारालाई सार्वजनिक गराउन दबाब सृजना गर्न आन्दोलन घोषणा गरेको छ।
डा.यादवको काका चितरंजन यादवले शनिबार एक प्रेस बिज्ञप्ती जारी गर्दै चरणबद्ध आन्दोलनको कार्यक्रम अगाडि बढाउने गरि घोषणा गरेको हो ।
डा. यादवको शव गत चैत १८ गते राति आफ्नै डेरा अगाडि भेटिएको थियो । परिवारले निर्ममता पुर्वक हत्या भएको भन्दै निष्पक्ष जाँच गर्नुपर्ने माग सहित चैत २३ गते जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत मोरङ जिल्ला प्रशासनमा ज्ञापनपत्र बुझाएका थिए ।
सो विषयमा प्रशासनले उपेक्षा गरेपछि चरणबद्ध आन्दोलन गर्ने मृतकका काका यादवले बताएका छ्न । विज्ञप्तिमा भनिएको छः मिति २०७८ चैत्र १८ राती नोवेल अस्पातालमा कार्यरत मेडिकल अधिकृत जिल्ला सप्तरी विष्णुपुर गाउँपालिका वडा नं. १ बस्ने यदुनन्दन यादवको छोरा बर्ष ३१ को डा. विजय कुमार यादवको निर्ममता पुर्वक हत्या भएको विषयमा निष्पक्ष जांच गर्नको लागि मिति २०७८ चैत्र २३ गते जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत जिल्ला प्रशासन कार्यालय मोरङ्ग लाई ३ (तिन) दिन ज्ञापन पत्र बुझाएको थियौं । हाल सम्म उक्त विषयमा कुनै पनि कार्वाही सार्वजनिक नभएको तथा आज मिति २०७८ चैत्र २६ गते सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गर्न खोज्दा समय नदिएकोले अव उपरान्त हामी सप्तरी बासी चरणबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउन यो प्रेस विज्ञप्तीमार्फत जानकारीको लागि सबैमा अनुरोध छ ।