काठमाडौं । विभागीय मन्त्री नतोकिँदा ४२औं सामाजिक सेवा दिवस प्रभावित बनेको छ । गत २९ असारमा शेरबहादुर देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरे पनि हालसम्म मन्त्रिपरिषद्पूले पूर्णता नपाउँदा यस वर्षको सामाजिक सेवा दिवस प्रभावित भएको हो ।
प्रत्येक वर्ष ६ असोजमा समाज सेवाको क्षेत्रमा उत्कृष्ट कार्य गर्ने सामाजिक संघसंस्था र समाजसेवीलाई पुरस्कृत गरी समाज कल्याण परिषद् यो दिवस मनाउँदै आएको छ ।
परिषदको बजेट नीति तथा कार्यक्रम पास हुन नसक्दा यसवर्ष उत्कृष्ट समाजसेवी घोषणा गर्न नसकिएको हो।
समाज कल्याण परिषदका सूचना अधिकारी दुर्गाप्रसाद भट्टराईका अनुसार विभागीय मन्त्री नियुक्त नहुनु तथा प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण सामाजिक सेवा दिवस सरकारको प्राथमिकतामा पर्न सकेन ।
’राजनीतिक संक्रमणको प्रभावका कारण यसवर्ष उत्कृष्ट समाजसेवी घोषणा गर्न सकेनौँ,’ भट्टराईले न्युज कारखानालाई भने, ‘यो कार्यक्रम बोर्ड बैठकबाट पास हुन सकेन।’
गतवर्ष कोरोना संक्रमणको जोखिम रहेकाले परिषद्ले भर्चुअल कार्यक्रम गरेर यो दिवस मनाएको थियो।
दिवसका अवसरमा परिषदले यसवर्ष भृकुटिमण्डपमा एक सय २५ बोटबिरुवा वृक्षरोपण गर्यो । प्रदेशस्तरमा भने प्रदेश सरकारसँग समन्वय गरेर सातै प्रदेशले विभिन्न औपचारीक कार्यक्रम गरेर दिवस मनाइएको छ।
नेपालमा २०३६ सालदेखि प्रत्येक वर्ष असोज ६ मा सामाजिक सेवा दिवस मनाउँदै आइएको छ ।