महिला क्रिकेट टोलीले इटहरीमा प्रशिक्षण सुरु गर्दै
सुनसरी  । आईसीसी महिला  ट्वान्टी- २० विश्वकप, २०२२ का लागि एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीले सुनसरीको इटहरीमा प्रशिक्षण सुरु गर्ने भएको छ । इटहरीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक जगत टमटाले भोलि बिहीबारदेखि एक सातासम्म इटहरीस्थित क्षेत्रीय रंगशालाको इनडोर हल र मैदानमा प्रशिक्षण गराइने जानकारी दिए ।

छनोट खेलका लागि नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला खेलाडीहरूलाई सानो सानो समूहमा प्रशिक्षण सुरु गरेको हो । पहिलो पटक क्यानले पहिलो चरणमा देशका प्रमुख तीन स्थानमा खेलाडीलाई प्रशिक्षणमा राख्ने योजनाअनुसार २७ भदौदेखि २ असोजसम्म कञ्चनपुरको महेन्द्रनगरमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

इटहरीको प्रशिक्षण सकिएपछि फाइनल चरणको प्रशिक्षण भने काठमाडौंमा राखिने प्रशिक्षक टमटाले जानकारी दिए ।

क्यानले एक महिनाअघि नै एसिया क्षेत्रको छनोट खेल्ने प्रारम्भिक नेपाली महिला क्रिकेट टोलीको नाम सार्वजनिक गरिसकेको छ । गत वर्ष सम्पन्न प्रधानमन्त्री कप र मेयर कप क्रिकेट प्रतियोगितामा महिला खेलाडीले गरेको प्रदर्शनका आधारमा क्यानको छनोट समितिले २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको थियो ।

देशका तीन स्थानमा त्यहाँ नजिक भएका खेलाडीलाई व्यक्तिगत र सानोसानो समूहमा प्रशिक्षण गराउँदा प्रभावकारी हुने भएकाले क्यान यसको तयारीमा जुटेको प्रशिक्षक टमटाको भनाइ छ । प्रशिक्षणमा प्रदेश २ का तीन जनासहित झापा, मोरङ र इलामका गरी ११ जना खेलाडी सहभागी हुने कार्यक्रम रहेको संयोजक विप्लव घोषले जानकारी दिए । 

मलेसियामा हुने भनिएको महिला टी- २० विश्वकपको एसिया छनोट २३ नोभेम्बरदेखि २८ नोभेम्बरसम्म हुने बताइएको छ । त्यसमा नेपालसहित भुटान, चीन, कुवेत, मलेसिया, म्यान्मार, यूएई र हङकङ खेल्नेछन् । एसिया छनोटको विजेताले पाँच क्षेत्रबीच हुने ग्लोबल छनोटमा प्रतिस्पर्धा गर्नेछन् । ग्लोबल छनोटबाट शीर्ष दुई टोलीले ट्वान्टी- २० विश्वकपमा स्थान बनाउनेछन् । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.