९५ प्रतिशत बन्यो ४२ किलोवाट अदलिखोला लघु जलविद्युत आयोजना

जुम्ला ।  गुठीचौर गाउँपालिकाकामा रहेको अदली खोलामा ४२ किलोवाटको लघु जलविद्युत आयोजना निर्माणको ९५ प्रतिशत काम पुरा भएको छ । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको आज निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले अनुगमन गरेका छन्  । आयोजना अनुगमनमा पालिकाका अध्यक्ष हरिबहादुर भण्डारी पनि थिए ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीका अनुसार आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। १५ वैशाखभित्रै आयोजना निर्माणसम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष भण्डारीले निर्देशन दिएका छन् । उनले भने, ‘यो आयोजना जुम्लाकै लागि ठुलो र नमुना हो ।' आयोजनामा गाउँपालिकाले एक करोड एक लाखभन्दा बढी रकम विनियोजन गरेको छ। दुर्गम र विकास पुर्वाधारबाट पछाडी परेको बस्तीमा यो आयोजना निर्माणपछि उज्यालोको अनुभुति हुने अध्यक्ष भण्डारीले बताए  ।

अदलिखोला लघु जलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माणस्थलको अवलोकन समेत भएको छ  । गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडीले यहाँ उत्पादन हुने बिजुलीले गडिगाँउ, नापानी, मुनिगाउँ र डिल्लीकोटका उपभोक्ता लाभावान्वित हुने बताइन । उनका अनुसार एक नम्बर वडामा मात्रै तीन सय ६० घरधुरी छन् । 

 त्यस्तै एक हजार आठ सय उपभोक्ताले बत्ती बाल्न पाउने वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन्  ।

आयोजनाका अपरेटर हिरालाल ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गरे ।  उनले जलविद्युतमा काम गर्दा मेसिनरी चिजसँग जोखिम छ।  तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो । 

© 2021 Quicknepal.com  |  All Rights Reserved.