काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्का र भारतीय विदेशमन्त्री जयशंकर एसबीच भेटवार्ता हुने भएको छ । खड्का बुधबार परराष्ट्रमन्त्री नियुक्त भएका खड्का र भारतीय विदेशमन्त्री एस जयशंकरबीच अमेरिकामा भेट हुने भएको हो ।
संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान गरेका छन् । गएराति न्युयोर्क प्रस्थान गरेका खड्का आज अपराह्न त्यहाँ पुग्दै छन् । सोही सिलसिलामा भारतीय विदेशमन्त्री जयशंकर पनि हाल न्युयोर्कमै छन् ।
खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएसँगै भारतीय विदेशमन्त्री एस जयशंकले सामाजिक सञ्चालमार्फत् बधाइ तथा शुभकामना दिएका थिए । खड्कालाई दिएको बधाई तथा शुभकामनामा जय शंकरले आफू खड्कासँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका छन् ।’
गत भदौ २९ गतेदेखि जारी संयुक्त राष्ट्रसंघको महासभाअन्तर्गत मंगलबारदेखि उच्चस्तरीय बैठक शुरु भएको छ । सो बैठकमा सहभागी हुन मन्त्री खड्का चार सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क गएका हुन् ।
परराष्ट्रमन्त्री खड्काले ‘आशाका माध्यमबाट लचिलोपन निर्माण गर्दै कोभिड–१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसंघलाई पुनःजागृत गराउने’ विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।