एमाले हाम्रो प्रतिद्वन्द्वी पार्टी हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले आफ्नो प्रतिद्वन्द्वी पार्टी भएको बताएका छन् । मंगलबारदेखि जारी केन्द्रीय कमिटी बैठकलाई समापन सम्बोधन गर्दै अध्यक्ष नेपालले सो बताएका हुन् । 

'कमरेडहरू अहिले हामी देखिरहेका छौं, हाम्रो प्रतिद्वन्द्वीको रुपमा रहेको नेकपा एमालेले हाम्रो विरुद्धमा अनर्गल प्रचार गरिरहेको छ। आज मैले भाषणहरु सुनेँ कि अब छिटै हाम्रो पार्टी अर्को पार्टीमा मिसिन गइरहेको छ। यो सतप्रतिशत होइन, हजार प्रतिशत गलत छ', उनले भने।

अध्यक्ष नेपालले आफ्नो पार्टी कसैसँग मिसिनुपर्ने आवश्यकता नरहेको बताए। 'यसको आफ्नै जग बलियो छ। यसको आधार बलियो छ। हामीले व्यापक रुपमा पार्टी कार्यकर्ताको समर्थन प्राप्त गरेका छौं। संगठनको सञ्जाल फैलिएको छ। जनवर्गीय संगठनहरु फैलिँदै गइरहेको छ।’

सो क्रममा उनले आफ्नो पार्टी देशव्यापी फैलिने बताए । 

सो क्रममा नेपालले ‘ओली गुट’ले जसरी आफूहरूले पार्टी सञ्चालन नगरी निश्चित मापदण्ड र विधि तथा पद्धतिका आधारमा अघि बढ्ने बताएका छन् । ‘मलाई मेरो विचार र सुझाव नै सबैभन्दा सही लाग्न सक्छ । तर दिइएका सुझाव, सल्लाहमा पनि केही कमी हुन सक्छन्,’ उनले भने, ‘आफूलाई लागेको कुरा अन्यत्र भन्ने होइन, पार्टीको सम्बन्धित कमिटीमा राख्ने हो ।’

© 2021 Quicknepal.com  |  All Rights Reserved.