गुल्मी । बौद्धिक अपांगता अभिभावक संघ गुल्मीले ‘डे केयर सेन्टर’ का लागि भवन निर्माण गरे पनि संचालनमा भने आउन सकेको छैन । रेसुंगा नगरपालिका–९ को उपल्लो तम्घासमा दुई वर्ष अघि ३९ लाख लागतमा दुई तल्ले भवन निर्माण गरिएको छ ।
तर, उक्त संरचना ‘डे केयर सेन्टर’ र पुनस्स्थापना केन्द्रका लागि पर्याप्त नभएको बौद्धिक अपाङ्गता अभिभावक संघ गुल्मीका अध्यक्ष इश्वरी पौडेलले बताए । जनशक्ति, कार्यालय संचालन र व्यवस्थापनमा स्रोत जुटेको छैन ।
‘डे केयर सेन्टर’ तथा पुनः स्थापना केन्द्रको सोच लिएका एक दशक बढी भए,’ पौडेलले भने, ‘अनुकूल बजेट भएन, चुनौतीपूर्ण काम हतार र आवेगमा गर्ने अवस्था रहेन ।’
संघका सचिव मेघलाल पाण्डेका अनुसार उपल्लो तम्घास माविमा बौद्धिक अपाङ्गगता भएका १० जना व्यक्ति छन् । १८ वर्ष पुगेपछि विद्यालय जान नपाउने बौद्धिक अपाङ्गता भएकालाई दिनभर ‘डे केयर सेन्टर’मा हेरचाह गर्ने उद्देश्य राखिएको हो ।
‘डे केयर सेन्टर’ मार्फत हेरचाह र पठनपाठनमा सहजता ल्याउन ५ लाखको अक्षय कोष निर्माण गरेर सहयोग संकलन गरिरहेको सचिव पाण्डेले जानकारी दिए । कोषको ब्याजबाट पनि कार्यालय संचालनमा केही सहयोग हुने भएकाले अक्षय कोष निर्माण गरिएको बताए ।
जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिको संख्या तीन सय २६ रहेको अनुमान गरिएको संघका पूर्वअध्यक्ष रघुनाथ मरासिनीले बताए ।