जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न डब्लुएचओको आग्रह

काठमाडौं ।   विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न आग्रह गरेको छ। विश्वमा वायु प्रदूषणको तह आँकलन गरिएभन्दा पनि धेरै घातक देखिएको भन्दै उसले आफ्ना एक सय ९४ सदस्य राष्ट्रलाई उत्सर्जन कम गरी सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

वायु प्रदूषण र स्वास्थ्यसम्बन्धी नयाँ निर्देशिका जारी गर्दै डब्लुएचओले नाइट्रोजन अक्साइड उच्च सुरक्षा तहको मापदण्ड घटाएको छ। ओजोन, सल्फर डाइक्साइड र कार्बन मोनोअक्साइडसहितका ग्यासको मात्रामा पनि कटौती गरिनुपर्ने सुझाव डब्लुएचओको छ ।

डब्लुएचओका अनुसार वायु प्रदूषणका कारण विश्वमा हरेक वर्ष करिब ७० लाख मानिसको मृत्यु हुने गरेको छ। वायु प्रदूषणबाट न्यून तथा न्यून मध्यम आय भएका देशका नागरिक बढी प्रभावित हुने बताएका छन् ।

धूम्रपान र अस्वस्थकर खानपानसरह नै वायु प्रदूषण घातक रहेको डब्लुएचओले बताउँदै आएको छ। वायु प्रदूषणका कारण मुटुसम्बन्धी रोग तथा स्ट्रोकसहितका घटना बढेका छन् । वायु प्रदूषणका कारण सबैभन्दा बढी दक्षिणपूर्वी एसिया प्रभावित छ ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.