काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले माओवादी एक ठाउँमा उभिने प्रयास भइरहेको बताउँदै माओवादी नेता तथा कार्यकर्तालाई सोहीअनुरुप व्यवहार गर्न निर्देशन दिएका छन् ।
बिहीबार काभ्रेमा भएको वाइसीएल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई संबोधन गर्दै अध्यक्ष दाहालले आफ्ना नेता तथा कार्यकर्तालाई यस्तो निर्देशन दिएका हुन् ।
विगतमा माओवादी टुटाउन र फुटाउन विभिन्न शक्ति केन्द्र लागेको बताउँदै प्रचण्डले भने, ‘हामी केन्द्रमा एकताबद्ध हुनका लागि प्रयास गरिरहेका छौँ । तपाईंहरु पनि त्यहीअनुरुप व्यवहार गर्नूस् ।’
सोही क्रममा अध्यक्ष दाहालले नेकपा एकीकृत समाजवादी पार्टी निर्माणका लागि निकै मिहिनेत गरेको बताउँदै अध्यक्ष दाहालले कार्यकर्तालाई एकीकृत समाजवादीसँग सहकार्य गर्दै गर्न आग्रह गरे ।
सो क्रममा दाहालले आउने निर्वाचनमा आफ्नो पार्टी एक नम्बरको पार्टी हुने दाबी गरे ।
बिहीबार सम्बोधन गर्दै प्रचण्डले सबै पार्टी कमिटी वैधानिक ढंगले निर्माण गर्ने काम भइरहेको भन्दै त्यसैअनुसार अघि बढ्न कार्यकर्ताहरूलाई निर्देशन दिए ।
‘हेर्नुहोला हामी एक नम्बर भएर देखाउँछौँ, देखाउनैपर्छ । सबै जाग्ने हो भने त्यो टाढा छैन,’ प्रचण्डले भने । उनले कहिलेकाहीँ कसैले मानिसहरु निरास छन् भन्ने गरेको सुनेको भन्दै आफूले जनता निराश नभएको भनेर भन्ने गरेको बताए । ‘मैले के भन्ने गरेको छु भने जनता त निराश छैनन् । जनता अलिअलि वाक्कदिक्क भाका छन् किनभने माओवादीका नेता कहाँ गए ? सधैँ घरमा आउँथे, दुःख सुखका कुरा गर्थे, खेतीपाती पनि सघाउँथे भनेर निराश छन् । आइदिए हुन्थ्यो भन्ने छ,’ प्रचण्डले भने ।