चितवन । भरतपुर महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ताका लागि मनाउन आएका दुई मन्त्री काठमाडौं फर्किएका छन् । भरतपुर महानगरको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई फकाउन चितवन पुगेका गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ काठमाडौं फर्किएका हुन् ।
बागी उम्मेदवारलाई फकाउन गृहमन्त्री खाँण १४ वैशाखमा चितवन गएका थिए । गृहमन्त्री खाँणले बिहीबार कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलाई मनाउन अनेकन प्रयास गरेका थिए । तर, पौडेलले आफू निकै अघि बढिसकेको भन्दै उम्मेदवारी फिर्ता नहुने अडान कायम राखेका थिए ।
पौडेललाई फकाउन गृहमन्त्री खाँणसँगै राज्यमन्त्री श्रेष्ठ पनि घरमै पुगेका थिए । बिहीबार बिहान र राति गरेर दुईपटक छलफल गरे पनि उनी उम्मेदवारी फिर्ता लिन तयार भएनन् । त्यो बीचमा उनीहरूले विभिन्न अफरसमेत गरेका थिए ।
प्रदेशसभा सदस्य बनाउने, गृह राज्यमन्त्री बनाउने जस्ता अफरसमेत उनलाई गरेका थिए । उनलाई फकाउन चितवनका कांग्रेस नेताहरू पनि घरमै पुगेका थिए । तर, आफ्नो उम्मेदवारी फिर्ता लिनु भनेको मतदाताको अपमान हुने भन्दै आफू पछि नहट्ने उनको अडान थियो ।
आज (शुक्रबार) १० बजेदेखि ५ बजेभित्र उम्मेदवारी फिर्ता लिने अन्तिम समय रहेको छ ।