काठमाडौं । जनता समाजवादी पार्टीका उपेन्द्र यादवमाथि छिट्टै सरकारमा जान दबाब परेको छ । सरकारले राजनीतिक विभाजनसम्बन्धी अध्यादेश फिर्ता नभई सरकारमा नजने मोडमा रहेका यादवमाथि सरकारमा जान दबाब परेको हो ।
राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभई सरकारमा सरकारमा गए पार्टी फुट्ने डर छ। अर्कोतिर, सरकारमा जान ढिलो गरेपछि मन्त्रीका आकांक्षीहरूले दिनदिनै अध्यक्षलाई दबाब दिने गरेका छन्।
पुरानो राष्ट्रिय जनता पार्टी (राजपा) का ७ जना सांसद कित्ता परिवर्तन गरी उपेन्द्र यादवतिर लागेका छन्। तीमध्ये केहीलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्। जसपाका एक नेता भन्छन्, ‘मन्त्री हुनकै लागि कित्ता परिवर्तन गरेका सांसदहरू मन्त्री हुन पाएनन् भने पार्टी फुटाउने अवस्था रहन्छ।
त्यसमा पनि जस जसलाई मन्त्री बनाउने आश्वासन अध्यक्ष यादवले दिएका छन्, उनीहरू मन्त्री हुन पाएनन् भने यादवसँग चिढिने निश्चित छ। त्यसैले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नभएसम्म सरकारमा नजाने अडान यादवले लिएका छन्।
जसपाका पाँच सांसदले चाहनेबित्तिकै जसपा फुट्ने अवस्था छ। जसपामा २० सांसद छन्। पार्टी फुटाउन २० प्रशित पुर्याउन पाँचजना सांसद भए पुग्छ। मन्त्री हुन लबिङ गरिरहेका जसपाका नेताहरूले जतिसक्दो चाँडो सरकारमा जान अध्यक्षलाई दबाब दिने गरेका छन्।
पार्टीबाट कसलाई नेतृत्व गरेर पठाउने भन्ने विषयमा पनि पार्टीभित्रै विवाद छ। अध्यक्ष यादव आफैँ सरकारमा गए भने उनले नेतृत्व गर्नेछन्। तर, उनी गएनन् भने पार्टीबाट राजेन्द्र श्रेष्ठ, रेणु यादव र महेन्द्र यादवले पार्टीबाट नेतृत्व गर्दै सरकारमा जान इच्छा देखाएका छन्।