काठमाडौं । सर्वोच्च अदालतमा नवगठित नेकपा एकीकृत समाजवादी पार्टी खारेजीको माग गर्दै परेको रिटमाथि सुनुवाइ सुरु भएको छ ।
सर्वोच्चमा नेकपा एमालेले दायर गरेको सो रिटमाथि शुक्रबार पुन: सुरु भएको हो । यसअघि सर्वोच्चले सो रिटलाई हेर्दाहेर्दैमा राखेको थियो । यसका अलावा आज सर्वोच्चमा अध्यादेशका आधारमा निर्वाचन आयोगले संशोधन गरेको नियमावलीका सम्बन्धमा पनि सुनुवाइ हुनेछ ।
अधिवक्ता श्रीकान्त बरालले निर्वाचन आयोग,नेपाल सरकार र सभामुख अग्नि प्रसाद सापकाटोसहितलाई विपक्षी बनाएर सो रिट दायर गरेका थिए ।
संसद चलिरहेको बेला हठात अन्त्य गरेर ल्याइएको दल विभाजनसम्बन्धी अध्यादेश र नियमावली बदर गर्न तथा सोही अध्यादेशअनुसार दर्ता भएको नेकपा एकीकृत समाजवादीमा एमालेले निष्कासन गरिसकेका व्यक्तिहरुको सनाखत गराइएकाले सो दल दर्ता बदर गर्न रिटमार्फत् माग गरिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्षताको इजलासमा बरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । सो मुद्दामा रिट निवेदकको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमेश बडालसहितले बहस गर्दैछन् ।