काठमाडाैं । निर्दोष ब्यक्तिहरुलाई फसाइएको भन्दै मानव अधिकार एलायन्स सिन्धुलीका अध्यक्ष दुर्गाराज पौडेल जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा अनशन बसेका छन्। प्रहरीले विना कारण आफूलाई फसाएको भन्दै प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल एसपी कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन्।
१५ वैशाखमा दुधौली नगरपालिका–२ भलुवाहीमा भएको घटनाले निर्वाचनलाई असर पर्ने भन्दै प्रहरीले पौडेललाई समन्वय गरिदिन अनुरोध गरेको थियो।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक विमलराज कडेलले रिलिफ नेपाल सिन्धुलीका अध्यक्ष तथा स्थानीय समेत रहेका पौडेललाई सो घटनामा मध्यस्तकर्ताको भूमीका निर्वाह गर्न आग्रह गरेका थिए।
प्रहरी उपरीक्षक कडेलले चिनजान र विश्वासका आधारमा केही व्यक्तिलाई ल्याएर हाजिर गराउने र एक रातमा सो घटना मिलापत्र गराउने आफू समक्ष प्रतिबद्धता गरेको पौडेलले बताए ।
नेकपा(एमाले) सिन्धुलीका इन्चार्ज गणेश पहाडी, जिल्ला अध्यक्ष रामकुमार कार्कीसँग पनि तत्काल घटना मिलाएर निर्वाचनका गतिविधिलाई सहज बनाउने प्रस्ताव एसपी कडेलले गरेका थिए।
अध्यक्ष कार्कीले पक्राउ पूर्जी जारी गरेका कार्यकर्ता ल्याए कानुनी प्रक्रिया अघि बढ्ने भन्दै उक्त प्रस्ताव अस्वीकार गरेका थिए। एसपी कडेलले प्रतिवद्धता गरेपछि पार्टीको आग्रहमा दुर्गा पौडेलले चार जनालाई २५ वैशाखमा जिल्ला प्रहरी कार्यालयमा हाजिर गराउन सहयोग गरेका थिए। तर प्रहरीले भोलिपल्ट बिहान कार्यालय समयमा छुटाउने प्रतिबद्धता गरेको भए पनि ७ दिनको म्याद थपेपछि प्रहरीले विना कारण आफूलाई फसाएको भन्दै प्रतिबद्धता कार्यान्वयनको माग गर्दै पौडेल एसपी कडेलको कार्यकक्षमा आमरण अनसन बसेका हुन्।
प्रहरीले निर्दोष स्थानीयलाई प्रक्राउ गरी मुद्धा चलाएको भन्दै जिल्ला प्रहरी कार्यालय स्थित एसपी चेम्बरमा मङ्गलबार बिहान ७ बजेबाट आमरण अनशन बसेका हुन्।
समस्या समाधानका लागि सहजीकरणको भूमीका निर्वाह गर्दा प्रहरीले नै फसाउन षड्यन्त्र गरेको भन्दै अनशन बसेको उनले बताए। उनले यसरी सामान्य व्यक्तिहरुलाई झुठ्ठा मुद्धामा नफसाउन प्रहरीलाई आग्रह समेत गरेका छन् ।