काठमाडौँ। सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दा हेर्न नमिल्नेमा राखेको छ । शुक्रबार न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो ।
आलमलाई ०६४ चैत २७ मा भएको संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको अभियोग लागेको छ। उनीमाथि विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योगसमेत मुद्दा चलिरहेको छ ।
आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाएको थियो। जिल्लाको आदेशलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले समेत सदर गरिदिएको थियो। त्यसपछि आलम थुनामुक्त गराउन माग राख्दै सर्वोच्च पुगेका हुन्। यसअघि २९ साउनमा पनि आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।