सिमकोट– नेकपा एमाले हुम्ला जिल्ला कमिटी सदस्य एवं दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य पर्वत सुनार र जिल्ला कमिटी सदस्य धनमल रोकायाले आफूहरु एमालेमा नरहेको स्पष्ट पारेका छन्।
आफूहरुलाई एमालेका केही नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जाल र कार्यकर्ता भेटघाटमा एमाले भन्ने गरेकोप्रति आपत्ति जनाउँदै उनीहरुले विज्ञप्ति निकालेर आफूहरु नेकपा एकीकृत समाजवादीमा रहेको जनाएका हुन्।विज्ञप्तिमा दुबै जनाले आफूहरु एमाले नरहेको र एमालेबाट विद्रोह गरी नयाँ बनेको पार्टी नेकपा एकिकृत समाजवादीको नीति, उद्देश्य, सिद्धान्त र विचारलाई अनुशरण गरेर अगाडि बढ्ने जनाएका छन्।
यसअघि उनीहरु दुवै जनालाई एमालेले आफ्नो पार्टीमा रहेको दावी गर्दै आएको थियो। हाल जिल्लाको दक्षिणी क्षेत्रमा सञ्चालन भइरहेको एमालेको प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा उनीहरुको सहभागिता रहेको थियो।ताँजाकोट र अदानचुली गाउँपालिकाका सञ्चालन भएको कार्यक्रममा उनीहरु दुबै जनाको उपस्थिति थियो। अन्य गाउँपालिकामा कार्यक्रम चलिरहेका बेला दुवै जना सो कार्यक्रम छोडेर सदरमुकाम फिर्ता भएका छन्।सिमकोट पुगेलगत्तै उनीहरुले सो पार्टीको कर्णाली प्रदेश कमिटी सदस्य लोकबहादुर हमाल, हस्तबहादुर शाही, उपाध्यक्ष तीर्थराज रोकाया र सचिव कमल छत्यालको उपस्थितिमा विज्ञप्ति निकालेर आफूहरु एमालेमा नरहेका बताएका हुन्।