काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशनका लागि बनेको प्रस्तावित मस्यौदामाथि छलफल गर्न केन्द्रीय कमिटीको बैठक जारी छ । एमालेका सबै नेता बैठकमा व्यस्त छन् । शुक्रवार तुल्सीलाल स्मृति भवनमा शुरु भएको बैठक शनिबार पनि बस्ने गरी स्थगित भएको छ ।
शुक्रबारको बैठकमा सुदूरपश्चिमका नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगातार १० बुँदे कार्यन्वयनको विषयमा प्रश्न गरे । उपाध्यक्ष भीम रावल, नेता झपट रावल र अर्का नेता भानुभक्त जोशीले १० बुँदे सहमति कार्यन्वयनमा असमानता देखिएको भन्दै अध्यक्ष ओलीको ध्यानाकर्षण गरे ।
तीनैजना नेताको प्रश्न सुदूरपश्चिममा भीम रावलको जिम्मेवारी खोसिनुमा केन्द्रित थियो । प्रश्न आउनेबितिकै अध्यक्ष ओलीले केन्द्रीय कमिटीको बैठकलगत्तै स्थायी कमिटीको बैठकबाट सुदूरपश्चिम समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसपछि सुदूरपश्चिमका नेता मौन रहे । १० बुँदे सहमतिअनुसार एमाले जेठ २ मा फर्किएपछि सबै ठाउँमा कार्यान्वयन हुँदै आएको छ । तर, सुदूरपश्चिममा भने कार्यन्वयन भएको छैन । नेता कर्ण थापा सुदूरपश्चिममा एमाले जेठ २ मा जस्ताको तस्तै फर्किन नसक्ने बताउँछन् ।
सुदूरपश्चिम एमाले जेठ २ मा किन फर्केन ?
नेकपा हुँदा सबैलाई नयाँ जिम्मेवारी तोकिएको थियो । नेकपा संघर्षरत अधिकांश नेता ओली पक्ष र माधव–प्रचण्ड पक्षमा विभाजित थिए । त्यतिबेला माओवादी खेमाका नेता लेखराज भट्ट अध्यक्ष ओलीतिर रहे ।
पछि सर्वोच्च अदालतले नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँत्याइएपछि लेखराज भट्ट माओवादीको सांसद पद त्यागेर ओली नेतृत्वको एमालेमै रहे । संघर्षका बेला ओली पक्षमा भट्ट हुँदा उनलाई सुदूरपश्चिमको इन्चार्जको जिम्मेवारी दिइएको थियो ।
त्यसकै निरन्तरतामा पनि एमालेभित्र विभाजनको स्वरुप देखिँदा उपाध्यक्ष रावल माधव नेपाल पक्षमा थिए । १० बुँदे कार्यन्वयन सँगै एमाले जेठ २ फर्किने भएपछि रावल एमालेमै रहे । यता एमालेको १० बुँदेलाई केही संशोधन भन्दै नेकपाको संघर्षदेखि एमाले विभाजनसम्म पद त्यागेर एमालेमै बसेका भट्टलाई ओलीले सुढूरपश्चिमकै इन्चार्जमा यथावत राखे ।
यही बेलादेखि नेता रावलले आफूलाई अन्याय भएको बताउँदै आएका थिए । अध्यक्ष ओलीले केन्द्रिय उपाध्यक्ष रहेकाले संयोजनकारी भूमिका खेल्नु भनेका थिए । तर नेता रावलले आफुले संयोजक÷इन्चार्जकै जिम्मेवारी पाउनुपर्ने बताउँदै आएका छन् ।
एमालेमा भीम रावल संघर्षमा हुँदा माओवादीबाट आएका नेताहरुले सुदूरपश्चिम थामेका कारण लेखाराज भट्टको जिम्मेवारी खोस्न नसकिने कर्ण थापाको भनाइ छ । सुदूरपश्चिममा रावल र भट्टको शक्ति संघर्षका कारण पनि यो विषय अलि जटिल देखिएको हो । दुवै जनाको शक्ति संघर्षकै कारण सुदूरपश्चिममा १० बुँदे जस्ताको तस्तै कार्यन्वयन हुन सकेको छैन ।