फिल्डिङ राम्रो भएनः प्रशिक्षक टमटा

काठमाडौं ।  पाँच टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाको पहिलो खेलमै युगान्डासँग पराजित भएपछि नेपाली टिमका प्रशिक्षक जगत टमटाले फिल्डिङ कमजोरीका कारण हार्नु परेको प्रतिक्रिया दिएका छन् । 

कीर्तिपुर स्थित टियु मैदानमा नेपाल युगान्डासँग पहिलो खेलमा १२ रनले पराजित भएको थियो । खेलपछि बोल्दै प्रशिक्षक टमटाले बलिङ र समग्रमा ब्याटिङ राम्रै भएपछि हारको कारण फिल्डिङ भएको बताए । 

‘आज बलिङ राम्रो भएको हो । तर फिल्डिङ  राम्रो भएन । फिल्डिङले गर्दा नतिजा राम्रो हुन सकेन । हामीले फिल्डिङबाट रन दियौं । तर लिन पाएनौं ।’ टमटाले भने । 

यस अघि नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको थियो । उत्कृष्ट बलिङ बाबजुद नेपालले युगान्डालाई १०२ रनमा समेट्न सफल भयो । तर कमजोर फिल्डिङकै कारण नेपालले १० रन अतिरिक्त दिएको थियो । 

यसपछि जबाफी ब्याटिङमा आएको नेपाल २० ओभरमा ९ विकेट गुमाउँदै ९० रनमा समेटिएको थियो । ब्याटिङ तर्फ नेपालको लागि उपकप्तान इन्दु वर्माले सर्वाधिक १६ रन बनाइन् । 

यस्तै डल्ली भट्टले १३ रन बनाउँदा विन्दु रावलले १२ रन बनाइन् । आक्रामक ब्याटिङ गरेकी कविता कुँवरले ६ बलमा ११ रन प्रहार गरिन् । 

पहिलो हारसँगै नेपालले पाँच खेलको श्रृंखला १–० ले गुमाएको छ । प्रशिक्षक टमटा दुवै टोलीको स्तर एउटै रहेका कारण बाँकी खेलमा सुधारिएको प्रदर्शन गर्दै खेल्ने बताउँछन् । 

‘श्रृंखलामा जित्न दुबैलाई मौका छ । मैले यस अघि समेत युगान्डाको खेल हेरेको थिए । हामी फर्कन प्रयास गर्छौं ।’ पूर्व पुरुष राष्ट्रिय टोलीका प्रशिक्षक समेत रहेका टमटा भन्छन् । 

यता, नेपाली टिमकी कप्तान रुविना क्षेत्री धेरै पछि खेलेको र खेलाडी नर्मस देखिँदा हार बेहोर्न परेको बताउँछिन् । यस्तै उनी पूर्व उपकप्तान सिता राना मगरको अभाव खड्किएको समेत बताउँछिन् । 

‘सिता नहुँदा समस्या पनि भयो । सिता महत्त्वपूर्ण खेलाडी हो । हामीले धेरै पछि खेलेका हौं । खेलाडी नर्मस हुँदा हार भयो ।’ कप्तान रुविनाले भनिन् । 

यस्तै रुविनाले बाँकी खेलमा राम्रो प्रदर्शन गर्दै श्रृंखला जित्न लागि पर्ने बताइन् ।

© 2021 Quicknepal.com  |  All Rights Reserved.